तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा पशुपति र बौद्ध स्तूपा निर्माण अभियान सुरु

काठमाडौँ । लामो समयदेखि अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका अगुवाहरूले अमेरिकाको उत्तरी क्यारोलिनामा पशुपति नाथको मन्दिर र बौद्ध स्तूपा निर्माण गर्ने अभियान सुरु गरेका छन् । 

निर्माण हुने मन्दिर र स्तूपाको स्केच 

अमेरिका पशुपति मन्दिर परियोजना अन्तर्गत निर्माण हुन लागेको पशुपति नाथको मन्दिर र बौद्ध स्तूपाको लागि अमेरिकाको उत्तरी क्यारोलिनामा तीन सय चार रोपनी जग्गाको सम्झौता भइसकेको मन्दिर निर्माणका अभियन्ता सुजन न्यौपानेले बताउनुभयो । 

मन्दिर निर्माणको लागि ५० मिलियन अमेरिकी डलर लागतको परियोजना तयार गरिएको उहाँले जानकारी दिनुभयो । अमेरिकाको विभिन्न राज्यमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरु प्रशस्तै रहेकोले परियोजनाको उद्देश्य काठमाडौँको पशुपति नाथको मन्दिर र बौद्ध स्तूपा जस्तै वास्तविक मन्दिर र स्तूपा निर्माण गर्नु रहेको अभियन्ता न्यौपानेको भनाई छ । 

अमेरिकामा सुरु गरिएको यो अभियानको लागि अमेरिकामा रहेका नेपाली समुदायसँगै नेपालमा रहेका हिन्दू र बौद्ध धर्ममा आस्था राख्ने तमाम समुदायको सुझाव तथा सहयोग आवश्यक रहेको अभियन्ताहरूको भनाई छ । 

अमेरिकामा निर्माण हुने पशुपतिनाथको मन्दिर र बौद्ध स्तूपाले तमाम नेपालीहरूलाई गौरवान्वित बनाउने भएकोले परियोजना निर्धारित समयमै सम्पन्न गरी हिन्दू र बौद्ध धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल बनाउने अभियानमा सबै नेपाली जोडिन आवश्यक रहेको अभियन्ता न्यौपानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button