देशलाई अविकसित र कमजोर ठान्ने मानसिकता त्याग्नुपर्छ: मन्त्री भट्टराई
भक्तपुर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आजको विश्वव्यापीकरणकाे दुनियाँमा देशलाई अविकसित र कमजोर राज्य ठान्ने मानसिकता त्याग्नुपर्ने बताउनुभएको छ ।
विश्वविद्यालय अनुदान आयोगको ३१ औँ वार्षिक उत्सव कार्यक्रमलाई आज सानो ठिमीमा सम्बोधन गर्नुहुँदै शिक्षा मन्त्री भट्टराईले अहिले भइरहेको युवा पलायन हाम्रा विश्व विद्यालय राम्रा नभएर नभई आर्थिक रूपमा हामी परनिर्भर छौँ भन्ने भाष्यलाई चिर्न नसक्नुको कारक भएको बताउनुभयो ।
आत्मनिर्भर भई अर्थतन्त्रलाई वृद्धि गर्नुपर्ने बताउनुहुँदै उहाँले उद्यमशीलतालाई जोड दिएर नव प्रवर्द्धन र वैज्ञानिक चिन्तन बोकेको युवा तयार गर्ने गरी उच्च शिक्षा निर्माण गर्नुपर्ने दायित्व विश्वविद्यालय अनुदान आयोग र बिश्वबिद्यालयहरुको भएको उल्लेख गर्नुभयो ।
अबको उच्च शिक्षा नीति त्यसैमा केन्द्रित हुनुपर्छ भन्दै मन्त्री भट्टराईले उच्च शिक्षा सञ्चालन गर्ने संस्थाहरूलाई संविधानको मर्म अनुसार समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
पुरानै शिक्षा ऐन अनुसार देशको शिक्षा नीति सञ्चालन भइरहेको बताउँदै उहाँले नीतिगत तहमा रहेका अप्ठ्यारालाई पहिचान गरी फुकाउँदै जानुपर्ने उल्लेख गर्नुभयो ।
सरकार र सरोकारवाला सबै यहीँ बसेरै केही गर्छु भन्ने जनशक्ति प्रति बढी जिम्मेवार हुनुपर्ने र नेपालमै केही गर्छु भन्नेलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
शैक्षिक क्यालेन्डरको सबैले पालना गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले क्यालेन्डर पालना नगर्ने हक कुनै पनि बिश्वबिद्यालयलाई नभएको बताउनुभयो ।
मन्त्री भट्टराईले नेपालमा शैक्षिक क्यालेन्डर अवरुद्ध हुँदा समयमै उच्च शिक्षाको पढाई सकिँदैन र पढ्दा पढ्दै जिन्दगी बित्छ भन्ने युवा मतलाई चिर्नुपर्ने बताउनुहुँदै त्यसका लागि आयोगले नियमित अनुगमन ,सम्पर्क र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिले एउटा समयसम्म मात्र देश र समाजले बदल्ने भए पनि त्यस पछि बदल्ने विद्धताले हो भन्नुभयो ।
मन्त्री भट्टराईले नेपाली समाजलाई व्यवस्थित गर्ने कार्यको नेतृत्व आयोग र बिश्वबिद्यालहरुले लिनुपर्ने बताउँदै त्यसको सारथिको रूपमा शिक्षा मन्त्रालय रहने बताउनुभयो ।
कार्यक्रममा आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले उच्च शिक्षाका लागि नेपाली विद्यार्थी र ठुलो धनराशि बाहिरिने प्रवृत्तिलाई कम गर्न चुनौती देखिएको बताउनुभयो ।
सो अवसरमा शिक्षा सचिव डा. दीपक काफ्ले ,आयोगका सदस्य सचिव प्रा.सङ्करप्रसाद भण्डारी,त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा.केशर जङ्ग बराल,काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा,आयोगका पूर्व अध्यक्षहरू प्रा.डा.कृष्णबहादुर थापा,प्रा.डा.पराशर कोइराला,प्रा.विदुर उपाध्याय ,आयोगका पहिलो सदस्य सचिव प्रा.डा. होमनाथ भट्टराई लगायतले नेपालको उच्च शिक्षाका सन्दर्भमा उठेका प्रश्नका जवाफ आयोग र विश्वविद्यालयले दिन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी र वार्षिकोत्सवको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कृत गरिएको आयोगका उपनिर्देशक देवेन्द्र रावलले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्