तपाईँ सुन्दै हुनुहुन्छः

भाइरसका कारण धमाधम कुकुर मर्न थाले 

दोलखा । दोलखा सदरमुकाम चरिकोट (भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ ) तथा भीमेश्वर नगरपालिकाका अन्य वडाहरूमा समेत धमाधम कुकुरहरू मर्न थालेका छन् । 

झण्डै तीन हप्ताको अवधिमा ३० भन्दा बढी कुकुरहरू मरेको भीमेश्वर नगरपालिकाका नायव पशु सेवा प्राविधिक शङ्कर पाठकले बताए । मृत्यु भएका कुकुरहरू मा पाइएको लक्षण क्यानाईन डिस्टेम्पर भाइरसको जस्तो देखिएको पाठकले बताए । 

खाने कुरा नखाने, वान्ता गर्ने, र्‍याल चुहाउने, पखाला लाग्ने जस्ता लक्षण देखिएको केही दिनमै कुकुर मर्ने गरेको नगरपालिकाका नायव पशु सेवा प्राविधिक पाठकको भनाई छ । त्यसरी मरेका कुकुरहरूमा अधिकांश सडकमा छाडा छोडिएका कमजोर कुकुर रहेका छन् भने केही घरपालुवा कुकुर समेत मरेको पाठकको भनाई छ ।

सदरमुकाम चरिकोटको चरिघ्याङ आसपासमात्र ९ भन्दा बढी कुकुर मरेको चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दावा तामाङले बताए । सडकमा छाडा छोडिएका बिरामी कुकुरहरूलाई नगरपालिकाले उपचार तथा बस्ने व्यवस्था गरिदिनु पर्ने चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष तामाङ बताउँछन् । 

भीमेश्वर नगरपालिकाले सडकमा छाडा छोडिएका कुकुरहरूको बन्ध्याकरण गर्ने अभियान सुरु गरेको केही समयपछि धमाधम कुकुरहरू मर्न थालेका थिए । 

पशु सेवा कार्यालय चरिकोटका प्रमुख डा. ज्ञानबहादुर जिरेल पशु सेवा कार्यालयमा उपचारको लागि ल्याइएको केही कुकुरहरू मा क्यानाईन डिस्टेम्पर भाईरस भेटिएकोले त्यसैको कारण कुकुरहरू मरेको हुनसक्ने बताउँछन् । 

दोलखामा धेरै बर्ष अघि कुकुरमा क्यानाईन डिस्टेम्पर भाईरस देखिए पनि अहिले त्यस्तो अवस्था नभएकोमा बन्ध्याकरणको क्रममा कतैबाट भाईरस सरेको हुनसक्ने डा. जिरेल बताउँछन् । यदि त्यस्तो अवस्था नभए कतैबाट भाईरस सरेपछि बन्ध्याकरणको कारण कमजोर भएको, उमेर पुगेको वा रोगी कुकुरहरू धेर मरेको हुनसक्ने डा. जिरेल बताउँछन् । 

भीमेश्वर नगरपालिकाका नायव पशु सेवा प्राविधिक शङ्कर पाठक भने बन्ध्याकरणको बेलामा पूर्ण रुपमा सुरक्षा विधि अपनाइएकोले त्यो बेला भाईरस सर्ने सम्भावना नरहेको बताउँछन् । नगरपालिकाले बन्ध्याकरण गर्ने समयमै केही कुकुर बिरामी भेटिएकोले भाईरस पहिलेनै कतैबाट भित्रिएको हुनसक्ने पाठकको भनाई छ । 

नगरपालिकाका नायव पशु सेवा प्राविधिक पाठक भाईरस सर्न नदिन घरपालुवा कुकुरलाई छाडा नछोड्ने तथा भाईरस विरुद्धको खोप लगाउनु बताउँछन् । सडकमा भेटिएका बिरामी कुकुरको उपचारको लागि नगरपालिकाले व्यवस्था गर्ने पाठकको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button