नेपाल कृषि अनुसन्धान परिषद् र रेडियो नेपाल बिच कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता
काठमाडौँ I नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र (नार्क) र सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालबीच कृषि–मौसम सल्लाह बुलेटिन कार्यक्रम प्रसारण हुने सम्बन्धी सम्झौता भएको छ ।
सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल सिंहदरबारमा आज रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा र नार्कका कार्यालय प्रमुख कालीप्रसाद उपाध्यायले कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक लामाले रेडियो नेपालबाट प्रसारण हुने कृषि र मौसम सम्बन्धी कार्यक्रम कृषिमा निर्भर नागरिकहरूलाई सन्देश र सही सूचना प्रवाह गर्नका लागि महत्त्वपूर्ण हुने बताउनुभयो ।
कार्यकारी निर्देशक लामाले नार्कसँगको सहकार्य र साझेदारीले किसानहरूलाई आधुनिक कृषि प्रणाली र वैज्ञानिकहरूको निकट पु¥याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय समृद्धिका लागि बलियो र आधुनिक कृषि प्रणालीमार्फत आवश्यक पर्ने सूचनाहरू प्रवाहका लागि कार्यक्रम महत्त्वपूर्ण हुने पनि कार्यकारी निर्देशक लामाले बताउनुभयो ।
नार्कका कार्यालय प्रमुख कालीप्रसाद उपाध्यायले रेडियो नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।
रेडियो नेपालबाट प्रत्येक शनिवार साँझ ६ः२५ देखि ६ः ३५ बजेसम्म कार्यक्रम तथा कृषि सम्बन्धी विभिन्न सन्देश प्रसारणको निरन्तरताका लागि सम्झौता भएको हो ।
प्रतिक्रिया राख्नुहोस्