कृषिमन्त्री अधिकारी र काँग्रेस महामन्त्री थापाबीच भेटवार्ता

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आज कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेट गरि कृषि क्षेत्रका समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा महामन्त्री थापाले मन्त्रालयको जिम्मेवारी समालेदेखि मन्त्री अधिकारीले गर्नुभएका निर्णयहरूलाई पार्टीले सकारात्मक ढंगले हेरेको उल्लेख गर्दे यस बिचमा कृषकहरूका पक्षमा निर्णय भएको भन्दै मन्त्री अधिकारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेको सरकारले अफ्ठयारा र बाधक कानुनहरूको संशोधन गर्न चाहेको बताउँदै महामन्त्री थापाले हालै वनेको दुई दलीय संयन्त्रले यस्ता कानुनहरूको एकै पटक संशोधनका लागि गृहकार्य गरेको उल्लेख गर्नुभयो ।

संसद्को आगामी अधिवेशनमा पाइपलाईनमा रहेका सबै विधेयकहरूको टुङ्गो लगाई बाधक रहेका कानुनको संशोधन गरिने भएकाले कृषि क्षेत्रमा वाधक रहेका कानुन संशोधनका लागि मन्त्रालयलाई गृहकार्य गर्न आग्रह गर्नुभयो । कृषि सँग सम्बन्धित विभिन्न कानुनहरूमा संशोधन आफु विगतमा कृषि समितिको सभापति हुँदा देखिनै आएको भएपनि अब तदारुकता लिन मन्त्री अधिकारीलाई आग्रह गर्नुभयो । दुई ठुला दल मिलेर सरकार सञ्चालन गरिरहँदा यसको अनुभूति नागरिकले गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिनुभयो ।
कृषिमा दिएको अनुदानको दुरुपयोग गर्नेहरुको नाम सार्वजनिक गर्न मन्त्री अधिकारीले लिनुभएको प्रयास सकारात्मक छ भन्दै महामन्त्री थापाले अनुदानको मोडालिटीमा पनि परिवर्तनको आवश्यकता छ-भन्नुभयो ।
भेटमा मन्त्री अधिकारीले आफ्नो कार्यकालमा मलको दीर्घकालीन समाधान होस भन्ने चाहाना रहेको र यसका लागि थुप्रै प्रयत्न गरेको जानकारी दिँदै सार्वजनिक खरिद ऐनमा संशोधनको आवश्यकतामा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्