नेपाल माछामा आत्मनिर्भर उन्मुख, १८ हजार मेट्रिक टन अझै अपुग
जनकपुरधाम । मानव स्वास्थ्यका लागि सर्वोत्तम खाद्य पदार्थको रुपमा रहेको माछाको उत्पादनमा अझै जोड दिनु पर्ने आवश्यकतामा जोड दिइएको छ ।
विश्व मत्स्य दिवसको अवसरमा आज जनकपुरधाममा आयोजना गरिएको विविध कार्यक्रममा सहभागी भएका विज्ञहरुले माछाको माग अनुसार करिब करिब उत्पादन भएपनि अझै १८ हजार मेट्रिक टनले अपुग रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनु भएको छ ।
नेपालमा अहिले वार्षिक रुपमा १ लाख १३ हजार मेट्रिक टन माछाको उत्पादन हुने गरेकोमा त्यस मध्ये ६० प्रतिशत उत्पादन मधेश प्रदेशका जिल्लाहरूमा भइरहेको छ । नेपालमा १६ हजार हेक्टर क्षेत्रफलमा माछाको उत्पादन हुने गरेको छ भने त्यस मध्ये ८.५ हेक्टरमा मधेश प्रदेशमा माछाको उत्पादन हुने गरेको छ ।
नेपालको जिडिपीमा माछाको उत्पादनको योगदान १ प्रतिशत जति रहेको छ । मत्स्य व्यवसायमा प्रत्यक्ष रुपमा ६२ हजार ४ सय लागेका छन् भने प्राकृतिक जलासयमा माछा मारेर ३ लाख ६० हजारको जीविकोपार्जन गर्ने काम भइरहेको मत्स्य मानव विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामका कार्यालय प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रविलाल शर्माले जानकारी दिनु भएको हो ।
पछिल्लो समयमा विभिन्न जिल्लाहरूमा माछाको उत्पादनका लागि पोखरीको निर्माण गर्ने क्रम पनि बढेको छ । मत्स्य मानव विकास तथा प्रविधि परीक्षण केन्द्र तथा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना आयोजना क्लष्टर इकाई धनुषा संयुक्त आयोजनामा आज भएको विश्व मत्स्य दिवस कार्यक्रम अन्तर्गत बिहान प्रभात फेरि कार्यक्रम सम्पन्न हुनुका साथै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहेको पोखरीमा माछाको भुर्रा छाड्ने काम सम्पन्न भएको छ ।
यसै गरि माछाको उत्पादनका लागि संरचनाको निर्माण गर्ने, बजारी करण गर्ने तथा माछा उत्पादनमा नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यमा संलग्न रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ का पूर्व कर्मचारी सुरेन्द्र कुमार झा, वडा नंं १२ का प्राविधिक सहायक जागेश्वर यादव र क्षिरेश्वर नगरपालिकाका मत्स्य व्यवसायी रामशोभित मुखियालाई सम्मानित गरिएको थियो ।
यसै अवसरमा माछाको महत्वका विषयमा विद्यालयहरूमा पनि विद्यालय शिक्षा कार्यक्रम चलिरहेको छ । माछाको सेवन गर्नाले मानवको शरीरलाई आवश्यक पर्ने विभिन्न भिटामिन, मिनरल, प्रोटिन सहितका तत्त्वहरू मिल्ने यसले मानसिक तथा शारीरिक विकासमा ठूलो योगदान दिने गरेको मत्स्य विज्ञ शर्माले जानकारी दिनु भयो ।
विकसित देशमा प्रति व्यक्ति १४ किलो वार्षिक रुपमा माछा खाने गरेको छ भने नेपालमा अहिले ३.८ किलो प्रति व्यक्ति माछा खाने गरेको छ तर मधेशमा प्रति व्यक्ति ६ किलो वार्षिक रुपमा माछा खाने गरेको पाइएको सो कार्यक्रममा विज्ञहरुले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्