बाँकेमा वन्यजन्तुबाट प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना
बाँके । बाँकेमा वन्यजन्तुबाट प्रभावित विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक छात्रवृत्ति कोष स्थापना गरिएको छ।
छात्रवृत्ति कोष बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका विद्यालयका विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको हो।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले जङ्गली जनावरबाट भोग्दै आएका समस्याहरू र क्षतिहरूको समाधानका लागि समुदाय स्तरमा सचेतनाका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। यसै बीचमा, वन्यजन्तुबाट प्रभावित परिवारका विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि जेडएसएल नेपाल र साझेदार संस्था इन्रुडेक बाँकेले छात्रवृत्ति कोष स्थापना गरेका छन्।
यस कोषले विद्यार्थीको उच्च शिक्षामा ठूलो सहयोग पुर्याउने कुशुमेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपेन्द्र बहादुर बस्नेतले बताउनुभयो। उहाँले उहाँले यो कोषले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
मध्यवर्ती क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई बाघ र अन्य जङ्गली जनावरहरूको जोखिमबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा अभिमुखीकरण कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्।
राप्ती सोनारी गाउँपालिका वडा नं १ का अध्यक्ष यमबहादुर खड्काले पनि छात्रवृत्ति कोषमा वडाको तर्फबाट सहयोग र साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
इन्डुरेक बाँकेका परियोजना अधिकृत मनिष घिमिरेका अनुसार, पहिलो चरणमा कुशुमेश्वर माध्यमिक विद्यालयमा ५ लाख २० हजार रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिएको छ र भविष्यमा अन्य विद्यालयमा पनि छात्रवृत्ति कोष विस्तार गरिनेछ।
राप्ती मध्यवर्ती क्षेत्रका उपभोक्ताहरू वन्यजन्तुका उच्च जोखिममा रहेका छन्, र मानव र वन्यजन्तुका बीच सहअस्तित्व कायम राख्दै यो क्षेत्रका बासिन्दाले संरक्षणका कार्यमा महत्वपूर्ण योगदान दिएका छन्।
पछिल्लो समय, विद्यार्थीलक्षित छात्रवृत्ति कोषले उच्च शिक्षामा योगदान पुर्याउँदै विद्यार्थीहरूको भविष्यका लागि एउटा महत्वपूर्ण सहयोग हुनेछ।
प्रतिक्रिया राख्नुहोस्