ब्लड बैङ्क नहुँदा रगत दाताको भरमा उपचार गराउँदै
दार्चुला । जिल्लामा ब्लड बैङ्क सञ्चालनमा नहुँदा जिल्ला अस्पतालमा आउने बिरामीले आफन्त वा दाताका भरमा रगत जुटाउँदै आइरहेका छन् । जिल्लामा ब्लड बैङ्क नहुँदा विशेष गरी गर्भवती, सुत्केरी र बिरामीहरूले सास्ती खेप्नुपरेको हो ।
रगत आवश्यक पर्दा बिरामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सर्वसाधारणको भर पर्नुपर्ने बाध्यता छ । जिल्लामा ब्लड बैङ्क अति आवश्यक रहेको छ । उपचारको लागि अस्पताल पुग्नेलाई रगत आवश्यक पर्छ । तर, अस्पतालमा ब्लड बैङ्क छैन । बिरामी र आफन्तले ब्लडकै लागि भौँतारिनु परेको छ ।
सोमबार राति नौगाड गाउँपालिका–४ सिप्टीका ३५ वर्षीया जैना धामीलाई एक्कासी ब्लड चाहिने भयो । निरन्तर रक्तस्रावका कारण महिला कमजोर अवस्थामा पुगेपछि रगतको खोजी भयो । तीन दिनदेखि जिल्ला अस्पताल दार्चुलामा उपचारार्थ रहेकी धामीलाई ‘बी’ पोजेटिभ रगत चाहिने भयो । एक्कासी आफन्तले रगतको खोजी गरेपछि विद्यार्थी नेता नरेन्द्रप्रसाद जोशीले राति १० बजे अस्पताल पुगेर रक्तदान गर्नुभएकाे थियो । स्थानीय युवा भुपेन्द्र विष्टले जिल्ला अस्पताल, दार्चुलामा बिरामीको लागि रगत चाहिने खबर गरेपछि जोशी अस्पताल पुगेर रगत दिनुभएको थियो । सोमबार नै व्याँस गाउँपालिका–२ सिन्याडीका ३२ वर्षीया सरिता विष्टलाई चाहिने रगत जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी सहायक निरीक्षक बिनोद धानुकले रक्तदान गर्नुभएकाे थियो । उहाँले रगत दिएपछि विष्टलाई सहज भएको थियो । अधिकांशले रगतको लागि आफूलाई सम्पर्क गर्दा ब्लड दिने मान्छे खोजेर पु¥याउनुपर्ने बाध्यता रहेको बिष्टले बताउनुभयो ।
जिल्ला अस्पतालमा भर्ना हुने अधिकांश बिरामीको लागि रगत खोज्न निकै सास्ती छ । चिनजान र पहुँच भएकाहरूले सहज रूपमै सुरक्षाकर्मी र आफन्तबाट रगत माग्ने गर्छन् । तर, गाउँबाट आएकाहरू रगतकै लागि अस्पताल पुग्दा भौँतारिनु पर्ने बाध्यता छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कान्तिराज जोशी प्रहरीलाई खबर आउने बित्तिकै रक्त समूह खोजेर सहयोगको लागि पठाउने गरेको बताउनुहुन्छ ।
जिल्ला अस्पतालमा रगतका लागि दाताको भर पर्नुपर्ने एक मात्र विकल्प रहेको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताउनुभयो । आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएको व्यक्तिलाई फोन गरेर बिरामीलाई रगत दिन गुहार गर्नुपर्ने बाध्यता छ । ‘रगत राख्न त्यो प्रकारको औजार उपकरण हामीसँग छैन,’ भट्टले भने, ‘बिरामीलाई चाहिने बेला आफन्तमार्फत खोजी गर्न पठाउनु पर्ने बाध्यता छ ।’
अस्पतालमा धेरैजसो रगत दिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पुग्ने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । चिनेकाहरूले सहजै रगत व्यवस्थापन गर्छन् । गाउँबाट आएका नयाँ मान्छेको लागि रगत खोज्न समस्या हुने गरेको छ ।
स्वास्थ्यकर्मीले चिनेजानेका साथीलाई खबर गरेर पनि रगत खोज्नुपर्ने अवस्था रहेको ल्याब असिस्टेन्ट दिपक विष्ट बताउँछन् । ‘हामीसँग ब्लड राख्न डि फ्रिज छ । तर एक महिनाभन्दा बढी ब्लड जम्मा गरेर राख्न मिल्दैन’, विष्टले भन्नुभयो, ‘ब्लड रिफ्रेस गर्ने सिस्टम नहुँदा पनि यहाँ बिरामीलाई समस्या हुने गरेको हो ।’ पछिल्लो समय जिल्ला अस्पतालमा अप्रेशन बढी हुने गरेको कारण पनि रगतको माग बढ्दै गएको छ ।
दार्चुला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहलमा विद्यार्थीको रक्त समूह पहिचान कार्य हुँदा रगत उपलब्ध गराउन सजिलो भएको स्ववियु सभापति कृष्णसिंह धामीले बताउनुभयो । हामीसँग सम्पर्कमा आउनेहरू विद्यार्थीबाट पनि ब्लड दिने गरिएको छ । ‘पहिलो चरणमा झण्डै ३ सय विद्यार्थीको रक्त समूह छुट्याएका छौँ’ उहाँले भन्नुभयो ‘फेरि पनि नयाँ भर्ना भएका विद्यार्थीको रक्त समूह पहिचान गर्ने तयारी छ ।’
जिल्ला अस्पताल, दार्चुलामा ब्लड बैङ्क प्रभावकारी बनाउन नसक्दा पनि समस्या छ ।
प्रतिक्रिया राख्नुहोस्