हेटौडा आँखा अस्पताल १७ औँ वर्षमा, करिब ९ लाखको आँखा परिक्षण
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१०, स्थित हेटौडा सामुदायिक आँखा अस्पताल आजबाट १६ वर्ष पुरा गरेर १७ औँ वर्षमा प्रवेश गरेको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको पहिलो शाखाको रुपमा स्थापित अस्पतालले यस अवधिमा करिब ९ लाख जनालाई सेवा प्रदान गरेको जनाएको छ ।
२०६५ साल मङ्सिर ५ गते अष्ट्रेलियन राजदूत ग्राहम लेडले उद्घाटन गर्नुभएको अस्पतालले यस अवधिमा करिब ९ लाख जनाको आँखा परिक्षण गरेको हेटौँडा आँखा अस्पतालका प्रबन्धक सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ । स्थापनाकालदेखि हालसम्म अस्पतालमा ८ लाख ९३ हजार जनाले आँखा जाँच गराउनुभएको उहाँले बताउनुभयो । उपत्यका बाहिरका नागरिकका लागि वरदानका रुपमा रहेको अस्पतालले यस अवधिमा ६० हजार मोतिविन्दुका बिरामीको शल्यक्रियासमेत गरेको उहाँले बताउनुभयो ।
यस्तै यस अवधिमा अस्पतालले विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर २२ हजारको निःशुल्क शल्यक्रिया, गर्नुका साथै अस्पतालमा आँखा जाँच, चश्मा जाँच, शल्यक्रिया सेवा, औषधि सेवा प्रदान गरिँदै आइरहेको उहाँले बताउनुभयो । यसका साथै आँखा स्वास्थ्य सम्बन्धि जनचेतना प्रदान गर्न विभिन्न समयमा शिक्षक, स्वास्थ्य कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, कारखानाका कामदार लगायत विभिन्न समूहलाई तालिम गोष्ठी आयोजना गर्दै आएको छ । अस्पतालमा आई आँखा उपचार सेवा लिन नसकेकाहरूलाई ग्रामीण क्षेत्रमा नै पुगी निःशुल्क आँखा शिविर पनि आयोजना गर्दै आई रहेको छ ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानले हेटौडा पश्चात् भक्तपुर र निजगढमा पनि अस्पताल खोली शाखा स्थापना गरिएको छ । साथै हेटौँडा सामुदायिक आँखा अस्पतालले थाहा नगरपालिका, मनहरी गाउँपालिका र बागमती गाँउपालिकासंग समन्वय गरेर सामुदायिक आँखा केन्द्र सञ्चालन गरेको छ । त्यसैगरी ईन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका र बकैयाँ गाँउपालिकासंगको सहकार्यमा ग्रामीण आँखा केन्द्र पनि सञ्चालन गरेर त्यस भेगका जनतालाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आई रहेको उहाँले बताउनुभयो । राक्सिरागं, भीमफेदी र मकवानपुर गढी गाँउपालिकासंग पनि ग्रामीण आँखा केन्द्र स्थापनको लागि छलफल भई रहेको उहाँले बताउनुभयो । आगामी दिनमा नयाँ शल्यक्रिया भवन निर्माण गरी सेवा प्रदान गर्नुका साथै न्यून दृष्टि भएका बालबालिकाहरूको लागि पनि छुट्टै सेवा प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
हेटौँडा सामुदायिक आँखा अस्पतालमा अहिले ३ जना नेत्र विशेषज्ञसहित ४० जना अस्पतालमा प्रत्यक्ष संलग्न भई जनशक्ति कार्यरत छन् भने विभिन्न सेवाका लागि अस्पतालले २० जनालाई बाह्य स्रोतबाट जनशक्ति व्यवस्थापन गरेको छ । दैनिक बिहान ६ बजेदेखि साढे ११ बजेसम्म टोकन लिएर बहिरङ्ग सेवा एक सय ५० रुपैयाँ शुल्कमा लिन सकिने व्यवस्था छ । बहिरङ्ग सेवा बिहान साढे ८ बजेबाट सुरु हुन्छ भने दिउँसो ३ः३० बजेबाट विस्तारित सेवामा चार सय ५० रुपैयाँको टिकटमा आँखाको परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ । आँखा अस्पतालमा दैनिक करिब तीन सयजनाले सेवा लिने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्