तपाईँ सुन्दै हुनुहुन्छः

‘जलवायु परिवर्तन र चुरे दोहनका कारण पानीको समस्या उत्पन्न हुँदैछ’

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तन र चुरे दोहनका कारण तराई मधेस क्षेत्रमा पानीको समस्या उत्पन्न भएको बताउनुभएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले नेपाल पानीको धनी मुलुक भए पनि जलवायु परिवर्तन र वातावरणीय प्रभाव अनि चुरे दोहनका कारणले पानीका मुहानहरू सुक्ने थालेकाले प्राप्त खानेपानी वितरणमा चुनौती थपिएको बताउनुभयो । मन्त्री यादवले खानेपानीमा थपिएको समस्याको दीर्घकालीन समाधानबारे सोच्नुपर्ने बताउनुभयो ।

मन्त्री यादवले तराई मधेसमा पानीको सतह घट्दै जानु, चापाकलमा पानी सुक्नु र पहाडमा पानीका मूल सुक्दै जाने समस्याको दीर्घकालीन समाधान गर्ने उपायको खोजीमा सरकार लागिरहेको जानकारी दिनुभयो ।

उहाँले गत असोज ११ गतेको अविरल वर्षाका कारण देश भर खानेपानीका थुप्रै आयोजनामा क्षति पुगेकाले खानेपानीका ती योजना पुनर्निर्माण गरी जनतालाई शुद्ध खानेपानी खुवाउन चुनौती रहेको बताउनुभयो । बाढीले क्षति गरेका ठाउँमा स्थायी संरचना निर्माण र नागरिकका आवश्यकता पुरा गर्न देशमा स्थायी सरकार गठन हुनुपर्ने मन्त्री यादवको भनाई थियो ।

हिमालको शुद्ध पानी, जडीबुटी मिसिएको मेलम्चीको पानी काठमाडौँका नागरिकका लागि ल्याइएको भए पनि विभिन्न ठाउँमा पाइप फुटेका कारण धमिलो पानी मिसिने भएकाले तत्काल मर्मत गर्न समेत मन्त्री यादवले आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव ई. प्रमीलादेवी शाक्य बज्राचार्यले बाढीका कारण क्षति भएका खानेपानीका संरचनाहरूको पुनर्निर्माणका आवश्यक रहेको बताउनुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले नागरिकलाई शुद्ध खानेपानीको आपूर्तिका लागि विभाग विगतदेखि नै लागिरहेको र जनशक्ति अभावका कारण आफूहरू केही खुम्चिनुपरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button