तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियार विधेयक उपसमितिले टुङ्गो लगाउने 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल गरी टुङ्गो लगाउन उपसमितिमा पठाइएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि आज संशोधनकर्ता सांसदहरूसँगको छलफलपछि विधेयकमाथि आएका सुझाव सहित प्रतिवेदन तयार पार्न १५ दिनको समय दिएर उपसमितिमा पठाउने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामलाई प्रभावकारी बनाउने, आयोगलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने र नीतिगत विषयमा विधेयकमा नै स्पष्ट गरिनु पर्नेमा सांसदहरूले जोड दिनुभयो ।   

बैठकमा गृहमन्त्री रमेश लेखकले कानुन निर्माणका विधेयक दर्तादेखि पास गर्नेसम्मका सबै चरणहरूलाई समय तोकेर अगाडी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गृहमन्त्री लेखकले कानुन निर्माणको पाँच वर्षको समय हेर्दा सुखद नरहेको भन्दै संघीय संसद्को दुवै सभाको नियमावली संशोधन गरेर कानुननिर्माण प्रक्रियाको समयसिमा तोक्ने र त्यही सीमाभित्र  रहेर काम गर्न अव ढिलाइ गर्न नहुने बताउनुभयो ।

मन्त्री लेखकले नीतिगत निर्णयको परिभाषा गर्नु आवश्यक रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान विधेयकबाट नै त्यो गर्न सकिने र त्यसका लागि विज्ञहरुसँग छलफल गरेर अगाडी बढ्न समितिलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button