जनसङ्ख्याको आधारमा विकास बजेट नछुट्याइँदा मधेश पछाडि: उपेन्द्र यादव
वीरगन्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा देशको आधाभन्दा बढी जनसङ्ख्या रहेको भए पनि जनसङ्ख्याको आधारमा विकास बजेट नछुट्याइँदा मधेश पछाडि परेको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी नेपाल पर्साद्वारा जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान अन्तर्गत आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेशी जनताले अझैसम्म आफ्ना हक, अधिकार र प्रतिनिधित्व प्राप्त गर्न नसकेको बताउनुभयो ।
यादवले राज्यका सबै क्षेत्रमा सम्मानजनक भागीदारी, प्रतिनिधित्व, अवसर, तथा मधेशी जनताको शासन र प्रशासनमा सहभागितासहितको अधिकार सुनिश्चित नभएसम्म सङ्घर्ष जारी रहने दाबी गर्नुभयो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले राज्यले मधेश र मधेशी जनतालाई सधैँ अपेक्षा गरेको कारण मधेशमा अपेक्षित विकास नभएको आरोप लगाउनुभयो । अध्यक्ष यादवले आगामी निर्वाचनमा मधेशी जनताको माग र मुद्दा बिर्सने दललाई मत नदिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्