तपाईँ सुन्दै हुनुहुन्छः

जाँगरले सीप दियो,सीपले पैसा : वर्षमै ४० लाख कमाउँछन् टोपेन्द्र

सल्यान । धेरै पढे लेखेका युवा युवतीहरू बेरोजगार भएर देश तथा विदेशमा भौँतारिरहेका हामी देख्न सक्छौँ । अभिभावकहरूले समेत धेरै पढेर डाक्टर, पाइलट, इन्जिनियर, अधिकृत बनेस् भनेर आषिश दिने गर्दछन् ।

पढेलेखेका युवा कुर्सीमा बसेर काम गर्न रुचाउँछन् तर स्वरोजगारमूलक काम गर्नबाट पछि हट्छन् । तर यसबिचमा यस्ता युवा पनि छन् जसले स्नातकोत्तरसम्म अध्ययन गरेर पनि मूर्ति बनाउने पेसालाई अङ्गालेर मनग्य आम्दानी गरी रहेका छन् । 

सल्यानको बागचौर नगरपालिका ९ मा जन्मिएका टोपेन्द्र डाँगीले मूर्ति बनाउने पेसालाई व्यावसायिक बनाउनु भएको छ । दैनिक मूर्ति बनाउनमै व्यस्त रहने डाँगीले वार्षिक ३० लाख ४० लाख बढी आम्दानी गर्दै आइरहनु भएको छ । उहाँले भन्नु भयो पैसा कमाउन विदेश वा सरकारी जागिर नै खानुपर्छ भन्ने केही छैन । सबै व्यक्तिमा कुनै न कुनै सिप हुन्छ उक्त सिपलाई चिन्न र प्रयोग गर्न सक्नुपर्छ । 

स्नातकोत्तर गर्नु भएका उहाँको ७ वर्षको शिक्षण पेसाको अनुभव समेत छ । शिक्षण पेसामा चित्त नबुझेपछि मूर्ति बनाउने पेसामा लाग्नु भयो । गत वर्ष मात्र ४० लाख बराबरको कारोबार गर्नु भएका उहाँले यो वर्ष कारोबार बढ्ने बताउनु भयो  । पढी लेखी जागिर नै खानुपर्छ भन्ने आफ्नो मनमा भावना नआएको बताउँदै उहाँले आफूले गरेको काम प्रति सन्तुष्ट रहनु पर्ने बताउनुभयो । हातमा सिप र कला भए आम्दानी गर्न कहीँ कतै जानु नपर्ने उहाँ बताउनु हुन्छ । 

एउटै मूर्तिको ५ लाखसम्म 

मूर्तिकार डाँगीले निर्माण गरेको एउटै मूर्तिको मूल्य ५ लाख सम्म लिने गर्नु भएको छ । सामान्यतया १० हजार देखि ५ लाखसम्मको मूर्ति बिक्री गरेको उहाँको भनाई छ । मूर्तिको आकार प्रकार अनुसार रकम निर्धारण हुने डाँगी बताउनु हुन्छ ।

चाडपर्वमा देवीदेवताका मूर्ति बनाउन भ्याई नभ्याई हुने बताउँदै उहाँले अन्य समयमा खाली समय काट्नु नपरेको बताउनु भयो । एउटा मूर्ति बनाउन एक हप्तादेखि एक महिनासम्म लाग्ने गरेको बताउँदै उहाँले प्रायजसो फिल्डमा नै गएर मूर्ति बनाउनु पर्ने भएकाले मूर्तिको मूल्य अलि बढी हुने गरेको बताउनु भयो । 

चार जनालाई रोजगारी 

स्वदेशमा रोजगारी नपाएको भन्दै धेरै युवा विदेश पलायन भइरहँदा डाँगीले भने चार जनालाई रोजगारी दिनु भएको छ । आफू स्वरोजगार हुनुका साथै चार जनालाई प्रत्यक्ष रोजगारी दिएको उहाँको भनाई छ । चार जनालाई मासिक तलबमा भन्दा पनि मूर्तिको साइज र मूल्य अनुसार दिने गरेको डाँगीले बताउनु भयो ।

उहाँले भन्नु भयो एउटै कामदारले कामको प्रकृति हेरी ५० हजारसम्म रकम पाउने गरेका छन् । पेसा व्यवसाय सानो ठूलो नहुने बताउँदै उहाँले सामान्य खालको पेसा व्यवसायबाट पनि राम्रो आम्दानी लिन सकिने उहाँको बुझाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button