तपाईँ सुन्दै हुनुहुन्छः

कृषिमन्त्री अधिकारीसँग मेक्सिकोका कृषिमन्त्री र सिमिटका महानिर्देशकको भेट

काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी र मेक्सिको सरकारका कृषि तथा ग्रामीण विकासमन्त्री जुलियो बर्डेगा बिच भेटवार्ता भएको छ । सिमिटका महानिर्देशकको निमन्त्रणामा सिमिटका क्रियाकलाप अवलोकन गर्न र सिमिट र नेपाल सरकारबीच दिगो रुपमा मकै र गहुँमा आधारित बाली प्रणाली सुधार गर्न सम्भावित सहकार्यबारे छलफल गर्ने उद्देश्यका साथ नेपाली प्रतिनिधिमण्डल सहित मेक्सिकोमा रहनु भएका मन्त्री अधिकारी र मेक्सिकोका मन्त्री बिचको भेटमा मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गर्नुभयो ।

दुई देशबीचको चार दशक लामो सम्बन्ध द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा विश्वास, समझदारी र सहयोगद्वारा प्रतिविम्बित भएको छ भन्दै मन्त्री अधिकारीले नेपाल सरकारले गहुँ र मकै जस्ता आधारभूत खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने र औद्योगिक आवश्यकताका लागि यस्ता उत्पादनको माग पूरा गर्ने तर्फ काम गरिरहेको उल्लेख गर्नुभयो ।

नेपाल सरकारले घोषणा गरेको “कृषिमा लगानी दशक े र यसका लागी द्विपक्षीय सहयोग लगायत विभिन्न क्षेत्रबाट समग्र कृषि विकासमा लगानी खोजी गरिरहेको जानकारी दिँदै मन्त्रीअधिकारीले कृषिको क्षेत्रमा दुई देशबीचको सम्भावित सहयोग , सिमिटको नेतृत्वमा नेपालमा मासएग्रो मोडलको कार्यान्वयन र कृषि क्षेत्रमा सहकार्य बढाउन पनि आग्रह गर्नुभएको छ ।

भेटमा मन्त्री अधिकारीले नेपाल सरकारको तर्फबाट मेक्सिको सरकारलाई मेक्सिकोका पर्यटकका लागि नेपाललाई प्राथमिकताको भ्रमण गन्तव्यका रूपमा लिन र नेपाली कृषि उत्पादन तथा अन्य व्यापारिक वस्तुमा प्राथमिकताका साथ बजार पहुँच उपलब्ध गराउन समेत अनुरोध गर्नुभयो ।

त्यस्तै मन्त्री अधिकारी र सिमिटका महानिर्देशक डा ब्राम गोभाएर्ट्स बिच पनि भेटवार्ता भएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सिमिट को भूमिका निर्णायक रहेको र आगामी दिनमा पनि नेपाल सरकारसँग संयुक्त रूपमा परियोजना प्रस्ताव विकास गर्न र गतिविधि सुरु गर्न आग्रह गर्नुभयो । नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सिमिटको भूमिका निर्णायक रहेकाले खाद्य उत्पादनमा बढ्दो चुनौतीहरूको सामना गर्न सिमिट जस्ता संस्थाबाट अझ बढी सहयोगको खाँचो औल्यउदै मन्त्री अधिकारीले नेपालमा सिमिट को अझ बलियो उपस्थितिका लागि आग्रह पनि गर्नुभयो । साथै उहाँले नेपाल सरकारसँग संयुक्त रूपमा परियोजना प्रस्ताव विकास गरी गतिविधि सुरु हुने अपेक्षा समेत महानिर्देशक समक्ष व्यक्त गर्नुभयो ।

सन् १९८५ बाट नेपाल सरकार र सिमिट बिच औपचारिक साझेदारी भएता पनि सन् १९६० देखि नै सहकार्य भइआएको छ। सिमिटबाट विकसित गहुँको नयाँ जात जातको प्रयोगबाट नेपाल पनि हरित क्रान्तिमा समाहित भएको थियो। समन्वयात्मक अनुसन्धानका प्रयासहरूले नेपालको तराई क्षेत्र र पहाडहरूमा मकै र गहुँको उत्पादकत्वलाई उल्लेखनीय रूपमा बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button