पुल नबन्दा डुङ्गाबाट यात्रा
गोरखा । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ७ धावादी र धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ धुषा जोड्ने पुल असोज ११ र १२ गते आएको बाढीले तर्न नमिल्ने गरी बिगारेपछि यहाँका मानिसहरू खोला वारपार गर्न समस्या झेल्दै आएका छन् ।
गोरखा र धादिङका दुई गाउँपालिका मिलेर एउटा डुङ्गा भाडामा लिएर नागरिकहरूलाई वारपार गर्न सघाइरहेका छन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म डुङ्गाले त्रिशूली नदी वारपार गराउँछ । विद्यालय जाने बालबालिका, कार्यालय जाने कर्मचारी, कामका लागि जाने आउने अन्य मानिसहरूले डुङ्गाको सहरा लिएर आउजाउ गरिरहेका छन् ।
समय सधैँ एकनासको हुँदैन, काम सकेर आउँदा पाँच बजेपछि नदी किनारमा डुङ्गा हुँदैन त्यसपछि कहाँबाट गन्तव्यमा पुग्ने भन्ने अन्यौल सुरु हुन्छ । धावादीघाटबाट तीन किलोमिटर तल माथि अर्को झोलुङ्गे पुल छ, त्यहाँ जान भनेको बेला सवारी पाइँदैन, फर्केर आउन तीन किलोमिटरको यात्रा बालबालिका सहित गर्नुपर्दा निक्कै कष्टकर भएको स्थानीय रचना रेग्मीले बताउनुभयो ।
आफ्नै सवारी साधन हुनेहरू वेनिघाटबाट पनि जान सक्छन् पुलको भर परेर वारपार गर्नेहरू मर्कामा परेका अर्का स्थानीय सरिता पौडेलले बताउनुभयो । डुङ्गाबाट वारपार गर्नेहरू प्राय केटाकेटी, महिलाहरू रहने गरेका डुङ्गा चालक अर्जुन रेग्मीको भनाई छ ।
पुल बनाउनका लागि सुरुवात भएको भएपनि कहिले सम्पन्न हुन्छ भन्ने ठेगान छैन । बाढी आउँदा पनि पुल हल्लिएर वारपार गर्न संयमित हुनुपर्थ्यो । बाढीले बिगारेपछि पूर्ण रुपमा निर्माण नगरी सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताउनुभयो । त्रिशूली तर्न सजिलो होस् भनेर नै आफूहरूले भाडामा लिएर डुङ्गाबाट सेवा दिएको तिमिल्सिनाले बताउनुभयो ।
धावादीघाटको पुल मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको सस्पेसन वज डिभिजन कार्यालय श्रीमहलका योजना प्रमुख रामेश्वर मरहट्टाले जानकारी दिनुभयो ।
बेनिघाटदेखि तल मुग्लिनसम्म त्रिशूली नदिले ४ वटा पुल बिगारेको थियो । दुइवटा मर्मत पछि सञ्चालनमा आएका छन् । दुईवटा मर्मत सम्भारको पर्खाइमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्