तपाईँ सुन्दै हुनुहुन्छः

‘शब्दथुम’लाई दुई लाख राशिको विमल गुरुङ कृति पुरस्कार

इलाम । इलामका साहित्यकार प्रकाश थाम्सुहाङको कृति ‘शब्दथुम’ले दुई लाख रुपैयाँ पुरस्कार राशिको विमल गुरुङ कृति पुरस्कार प्राप्त गरेको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले साहित्यकार थाम्सुहाङको निबन्ध ‘शब्दथुम’लाई पुरस्कृत गरेको हो ।

धरानमा शनिबार आयोजित समारोहमा साहित्यकार थाम्सुहाङलाई नगद, ताम्रपत्र र दोसल्लासहित पुरस्कृत गरियो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीम खतिवडाले उनलाई पुरस्कार र ताम्रपत्र अर्पण गर्नुभयो । त्यस अवसरमा ३३औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५३ औँ जन्मजयन्ती समेतको विशेष कार्यक्रम सम्पन्न गरियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर पुस्तकालय समितिले पत्रकार सम्मेलन गर्दै विमल कृति पुरस्कार प्राप्त गर्ने कृतिको नाम घोषणा गरेको थियो ।

पुरस्कारका लागि स्वदेश र विदेशबाट प्रकाशित नेपाली भाषाका एक सय दुई पुस्तक दर्ता थिए । तीमध्ये उत्कृष्ट १० बाट ‘शब्दथुम’ छानिएको थियो । निर्णायक समितिले ‘शब्दथुम’ निबन्ध कृतिले शब्दको शक्तिलाई पुष्टि गर्ने प्रयत्न गरेको र कृतिभित्र रैथाने चेतदेखि वैश्विक चिन्तन र मीमांसा पाएको उल्लेख गरेको छ । थाम्सुहाङको कृतिमा रहेका निबन्ध चिन्तनले समतामूलक समाजको परिकल्पना गर्दै सुन्दर समाज निर्माण गर्ने पक्षमा वकालत गरेको उल्लेख गरिएको छ ।

‘शब्दथुम’ याक्थुङ मुन्धुम, हिन्दुको वेद, क्रिश्चियनको बाइबल, मुस्लिमको कुरान र बौद्धको त्रिपिटकले भन्ने गरेको शब्द शक्तिलाई विश्वास गरेको कृति भएको ठहर छनोट समितिले गरेको छ । याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष समेत रहनुभएका थाम्सुहाङले १७ वर्षअघि ‘पालामको मूर्च्छना’ कविता सङ्ग्रह निकाल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button