तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर र संखुवासभामा औद्योगिक सर्वेक्षण हुदैँ

फाइल तस्बिर

भोजपुर । प्रदेश नम्वर १ का पहाडी जिल्ला भोजपुर र संखुवासभामा राष्ट्रिय औद्योगिक सर्वेक्षण हुने भएकोे छ ।

तथ्यांक कार्यालयले दुुवै जिल्ला भित्र रहेका एक सय छ औद्योगिक प्रतिष्ठानहरुको सर्वेक्षण कार्य शुरु गर्न लागेको तथ्यांक कार्यालय भोजपुरका तथ्यांक अधिकृत सन्तोष कोइरालाले जानकारी दिनुभयो ।

कार्यालयले आज औद्योगिक सर्वेक्षणका बिषयमा भोजपुर सदरमुकाममा गरेको सचेतना गोष्ठीमा तथ्यांक अधिकृत कोइरालाले भोजपुरका ३१ र संखुवासभाका ७५ औद्योगिक प्रतिष्ठानहरुको सर्वेक्षण गरिने बताउनुभयो ।

आर्थिक बिकासमा औद्योगिक क्षेत्रहरुको पनि महन्वपूर्ण भुमिका हुने भएकाले प्रत्येक ५/५ बर्षमा औद्योगिक गणना र प्रत्येक १० बर्षमा औद्योगिक सर्वेक्षण हुँदै आएको तथ्यांक अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

औद्योगिक सर्वेक्षणका लागि भोजपुरमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी सात सदस्यीय राष्ट्रिय औद्योगिक सर्वेक्षण जिल्ला समन्वय समिति गठन गरिएको छ ।

सर्वेक्षणका क्रममा केही समस्या देखिएमा यही समिती मार्फत समाधान गरिने छ । संखुवासभाबाट सर्वेक्षणको कार्य शुरु गरिने र आगामी असार मसान्त भित्र दुवै जिल्लाको सर्वेक्षण कार्य सम्पन्न गरिने तथ्यांक कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी, समन्वय समिति उपप्रमुख अनिशा खडका, उद्योग बाणिज्य संघका पदाधिकारी, पत्रकार र सरोकारवाला सरकारी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button