शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको गुणस्तरमा सम्झौता हुँदैन: मन्त्री गुप्ता
वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जनजीविकासँग प्रत्यक्ष जोडिएको शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको गुणस्तरमा सम्झौता गर्न नसकिने बताउनु भएको छ ।
पर्साको जगतपुरमा टैरीमाई क्लबद्वारा आज आयोजित शैक्षिक जनचेतना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले यस्तो बताउनुभएको हाे । शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तरीयता कायम गर्दै क्षमता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले व्यबसायीक र रोजगारमूलक शिक्षाले वर्तमान समयको आवश्यकता पुरा गर्न सक्ने बताउनुहुँदै नेपालमा उत्पादन भएका दक्ष जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा दिनुपर्ने कुरामा जोड दिनुभयो ।
विगतको ८ वर्ष देखि शिक्षा क्षेत्रमा काम गर्दै आएको टैरीमाई क्लबले छोटो समयमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएकोमा खुशि व्यक्त गर्नुभयो ।
मन्त्री गुप्ताले बालबालिकालाई विद्यालयको किताबी ज्ञानले मात्र नपुग्ने बताउनुहुँदै अभिभावकले पनि घरमा व्यवहारिक शिक्षा दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । देशको अवस्था अनुसार उपलब्ध साधन स्रोतबाट अधिकतम उपलब्धी हासिल गर्नुपर्नेमा जोड दिँदै थोरै लगानीमा धेरै उपलब्धी कसरी गर्न सकिन्छ त्यसतर्फ लाग्न सम्बन्धित निकायलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहान , उपप्रमुख रुबी ठाकुर,पूर्व नगरप्रमुख दिप नारायण रौनियार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्