तपाईँ सुन्दै हुनुहुन्छः

फूलखेतीमा रमाउँदै ७५ वर्षे सुनुवार

महोत्तरी। उमेरले ७५ वर्षको डाँडा कटायो, तर कमलबहादुर सुनुवारको काममा फुर्ति भने जवानी (युवावस्था)कै छ । नौलो काम गर्ने लहडले ३० वर्षअघि फूलखेती गर्न थालेका सुनुवारले जीवनको उत्तराद्र्धमा पनि पूmलका बोटसँग रमाउन छाड्नुभएको छैन ।

“रामेछापको बुलमबुलमको आफू मधेश झरियो”, महोत्तरीको बर्दिवाससँगैको धनुषा जिल्लामा पर्ने मिथिला नगरपालिका–२ का सुनुवारले भन्नुभयो, “के गरौँ भन्ने खुल्दुली हुँदा ३० वर्षअघि फूलखेती थालेँ, अब त यसैलाई जीवनसँग गाँसिसक्या छु ।” ढल्केवर–जनकपुर सडकको छेउमै नक्टाझिजमा १५ कठ्ठा जग्गा ठेक्का लिएर अहिले फूलखेतीमा रमाउनुभएका सुनुवारलाई जेठी बुहारी रिङ्कु सुनुवारको साथले हौसला थपिएको छ ।

शुरुमा के गर्दा जीवनयापन होला भनेर सोचिरहेकै बेला एक्कासि फूलखेती गर्ने विचार फुरेपछि विसं २०४५ ताका यो खेती थालेको सुनुवारको भनाइ छ । शुरुका केही वर्ष बजार पाउन गाह्रो परे पनि एक÷दुई वर्षभित्रै पूmल व्यापारीसँगको समन्वयले व्यवसाय सहज भएको सुनुवारले बताउनुभयो ।

अहिले सुनुवारको मेहनतमा सयपत्री, गोदावरी र रङ्गीबिरङ्गी थुँगेपूmल बारी नै रङ्गीचङ्गी बनाउने गरी फुलेका छन् । अहिले पालो मिलाएर दैनिक दुई÷तीन कठ्ठाको पूmलबारीमै आएर व्यापारीले लाने गरेको सुनुवारले बताउनुभयो । “बूढी (पत्नी) बेलैमा बाटो लागिहाल्यो (मृत्यु भयो), दुई छोरा आफैँ बाबुआमा बनेर हुर्काएँ”, सुनुवारले विगत कोट्याउँदै भन्नुभयो, “ती दुःखका दिनमा फूलका बोट समाएँ, हुँदाहुँदा यसैले दुःख बिर्साउँदै लग्यो ।”

आपूm दुई÷दुई छोराबुहारी र पाँच नातिनातिनीसहित १० जनाको परिवार पाल्ने, अन्य घरव्यवहार, नानीहरुको शिक्षादीक्षा र इष्टमित्रलाई भइपरी आउने बेलाको सरसहयोग पनि फूलले थेगेको सुनुवारको भनाइ छ । “अहिले जनकपुर, काठमाडौँ र पूर्वको काँकडभिट्टासम्मका व्यापारीले फोनमै सम्पर्क गरेर फूल टिप्न माग गर्छन्”, सुनुवारले बेलिविस्तार लगाउँदै भन्नुभयो, “बूढ्याँइ राम्रै चलिरहेको छ ।” फूलखेतीले गोजीमा रकमको खडेरी पर्न नदिएको र वरपर छरछिमेकमा यसैको बलले सरसहयोग गर्न पाउँदा खास आनन्द दिने गरेको सुनुवारको थप भनाइ छ ।

फूल भनेको घर अगाडि गमलामा होस् कि आँगन छेउ, यसो सजाउने कुरा मात्र हो भन्ने मान्यता सुनुवारले बदलिदिनुभएको वरपरका छिमेकी बताउँछन् । यो जीवन चलाउने खास खेती (व्यवसाय) नै हुने कुरा सुनुवारबाट सिकेर पछिल्ला केही वर्षयता फूलखेती गर्ने किसान बढ्दै गएका नक्टाझिजकै बासिन्दा राजनीतिकर्मी प्रदेशसभा–२ का सदस्य शत्रुधन महतो बताउनुहुन्छ ।

बाटोघाटो हिँड्ने सबैले देख्ने ठाउँमा सुनुवारले लगाउनुभएको फूलखेती हेर्न पुग्नेको पनि ताँती नै लाग्ने गरेको छ । पछिल्ला केही वर्षयता महोत्तरीको भङ्गाहा, बलवा र बर्दिवास नगरपालिका क्षेत्रका किसानले सुनुवारको देखासिकीबाटै फूलखेती गर्न थालेका छन् । बलवा नगरपालिकाको बनौटा र पडौलमा १० कठ्ठासम्म फूलखेती गर्ने किसान भएका बलवाकै नगरप्रमुख विनोद यादव बताउनुहुन्छ । फूलखेतीलाई अन्य खेतीसरह मानेर किसानलाई प्रोत्साहन हुनसके यसबाट किसान लाभान्वित हुने सुनुवारको भनाइ छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button