सिमा प्रशासन कार्यालय पाँचथरमा प्रमुख छैनन्
पाँचथर ।
जिल्लाको याङवरक गाउँपालिका–१, च्याङथापुमा रहेको सिमा प्रशासन कार्यालय एक महिनायता पुनः प्रमुख बिहिन बनेको छ ।
पछिल्लो समय कार्यालय प्रमुखको रुपमा कार्यरत अधिकृत बिनोद चौहान गत माघ १५ गते सरुवा भएर अन्यत्रै गएपछि कार्यालय फेरि प्रमुख बिहिन बनेको हो । कार्यालयमा प्रमुख नहुँदाको पीडा स्थानीयले खेप्नु परेको याङवरक–१, च्याङथापुकी अञ्जु नेपालीले बताउनुभयो ।
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले स्थापित कार्यालयबाट याङवरकका वडा नं १, २ र ३ का सेवाग्राहीले सेवा लिंदै आएका थिए । कार्यालयबाट फौजदारी मुद्वा हेर्ने, नागरिकता वितरण गर्ने, बजार अनुगमन, बिपद ब्यवस्थापन, सिमापारि भारतको सिक्किम जानलाई पासको लागि सिफारिस दिने लगायतका सेवा प्रवाह गर्दै आइएको छ ।
माघ १५ देखि कार्यालय पुनः प्रमुख बिहिन बनेपछि स्थानीय सेवाग्राही कार्यालयबाट उपलब्ध सेवा पाउनबाट बञ्चित बनेका हुन् । कार्यालयबाट नियमित रुपमा सेवा लिन नपाउँदा सिमा प्रशासन कार्यालय भएर पनि नभएको जस्तो भएको याङवरक–२, फलैंचाका समीर बेघाले गुनासो गर्नुभयो । उक्त सिमा प्रशासन कार्यालय द्वन्दकालको समयमा लामो समय बन्द रहेको थियो । मुलुकमा शान्ति स्थापना भएसँगै १८ वर्षपछि २०७२ सालमा कार्यालयलाई पुनः सञ्चालनमा ल्याइएको हो । यद्यपि कार्यालयमा नियमित कर्मचारी नहुँदा भनेजस्तो सेवा लिन नपाएको याङवरक–१, च्याङथापुका मंगलबहादुर बेघाले बताउनुभयो । कार्यालयको कार्यक्षेत्र र क्षेत्राधिकार समेत कम हुँदा प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको उहाँको भनाई छ । कार्यालय प्रमुख बिहीन बनेपछि गृह मन्त्रालयले एक शाखा अधिकृतलाई दरबन्दीमा पठाएको तर अहिलेसम्म सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्