सरकारले सय दिनमा राम्रो काम गरेको छ : सभापति देउवा
भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताउनुभएको छ ।
आज नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारलाई समस्या समाधानका लागि पुरापुर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ । अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । सरकारको सय दिन बल्ल पुगेको बताउनुहुँदै देउवाले यहाँ मात्र होइन जहाँ पनि सय दिनको कामको सम्बन्धमा आलोचना प्रत्यालोचना सबै हुन्छ भन्नुभयो ।
अहिले देशमा संयुक्त सरकार छ भन्दै उहाँले हामी सरकार भएको कारण मैले उहाँलाई भनेको होइन साच्चै राम्रो काम गर्नुभएको सभापति देउवाको दाबी थियो । सभापति देउवाले भन्नुभयो,‘मलाई विश्वास छ प्रधानमन्त्री ओलीले अझै यस्तै राम्रो काम गर्नुहुने छ । ’ प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक कुरा हो भन्नुहुँदै सभापति देउवाले त्यसलाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढंगले सरकारले ध्यान दिने बताउनुभयो ।
आएका आलोचनाहरू सम्बन्धमा पनि तथ्यपरक भएर सरकारले ध्यान दिने र आफूले पनि प्रधानमन्त्री ओलीलाई प्रोत्साहन गर्ने बताउनुभयो । आएका आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने उहाँको भनाई थियो । सभापति देउवाले हाम्रो देश ठूला दुई देशको बिचमा रहेकाले प्रधानमन्त्री ओलीले शक्ति सन्तुलन लगायत सबै कुरा ध्यानमा राखेर हरेक क्रियाकलापहरू गर्न सक्षम हुने बताउनुभयो ।
उहाँले देशभरका पार्टीहरू संयुक्त सरकार बनेयता खुसी र रहेको र यो सरकारलाई पुरा समयसम्म सफल पार्न आएका समस्यालाई समाधान गर्न लाग्ने बताउनुभयो । सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताउनुहुँदै सभापति देउवाले सरकारलाई समस्या समाधानका लागि पुरापुर सहयोग हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काँग्रेसले अहिले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै गरिरहेको बताउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी,पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानियाँ ,जिल्ला सभापति तथा संघीय सांसद दुर्लभ थापा,जिल्ला नेता रवीन्द्र प्रधान र यादव अधिकारीले काँग्रेसले जनतामा छाएको निराशालाई चिर्दै जनतामा आशाको किरण छर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्