कोरोनाले होटल र पाल्पाली ढाका उद्योगमा असर

पाल्पा । बिश्वभर फैलिएको कोरोना भाइरसले पाल्पाका होटल र पाल्पाली ढाका उद्योगमा ठूला असर पारेको छ । साना होटलहरु स्वदेशी र विदेशी पर्यटकहरुले भरिन्थे विगतमा तर यस वर्ष टुंडिखेल मात्र होइन बसपार्क , बजारका गल्लीचोक, होटलहरु समेत सुनसान भएका छन् ।
संसारलाई आक्रान्त पारेको कोराना भाइरसका कारण त्यसको प्रभाव जिल्लाको पर्यटन व्यवसायलाई नराम्रो संग प्रभावीत पारेको व्यवसायहरु बताउछन् । कोरोनाको कारण तानसेन सुनसानै भएको छ । विगत एक महिनादेखि पर्यटन व्यवसायलाई कोरोनाले प्रभावित तुल्याउदा दैनिक लाखौ रुपैयाको नोक्सान भएको छ ।
विदेशी पर्यटकहरुको लागी पनि रोजाइमा पर्ने पाल्पाको तानसेन पनि हो । लुम्बिनी र पोखरा रुटमा पर्ने तानसेन जव कोरोना भाइरसको हल्ला संसारभरी फैलियो तव विदेशी पर्यटक मात्र होइन स्वदेशी पर्यटक समेत आउने क्रम पूर्ण रुपले बन्द हुदा दुई सय करोड भन्दा लगानी भएको होटल व्यवसाय नै चौपट हुने अवस्थामा आएको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव होटल व्यवसाय संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ बताउनुहुन्छ ।
विदेशी पर्यटक मात्र होइन आन्तरिक पर्यटक समेत यस पटक शून्य नै भएको छ । जसले गर्दा होटल व्यवसाय चौपट भएको छ । यहि अवस्था लामो समय सम्म कायम रहे होटल व्यवसायीले व्यवसाय नै परिवर्तन गर्नुपर्ने अवस्था आउने होटल व्यवसायी प्रकाश लम्साल बताउनुहुन्छ ।
सदरमुकाम तानसेनमा साना ठूला गरि एक सय वटा होटलहरु छन् । जसले भाडामा घर लिएर व्यवसाय सञ्चालन गरेका छन् तिनिहरुलाई मासिक भाडा तिर्न समेत कठिन भएको छ । सबैका होटलहरु सुनसान छन् । व्यवसाय प्रतिदिन कम हुदै शून्यमा पुगेको लम्साल बताउनुहुन्छ् ।
कोरोना भाइरसका कारण होटल व्यवसाय मात्र चौपट भएको छैन पाल्पाको पहिचानको रुपमा स्थापित ढाका उद्योगलाई समेत नराम्रो संग प्रभावित तुल्याएको व्यवसायीहरु बताउछन् । कोरोना भाइरसका कारण ढाकाको व्यापार समेत ठप्प हुने अवस्थामा आएको पाल्पाली ढाका उद्योगी सागर महर्जन बताउनुहुन्छ् ।
ढाका , हस्तकला उद्योगलाई समेत प्रभावित तुल्याएको छ । उत्पादन गरेर मात्र के गर्ने पाल्पाली ढाका स्वदेशी विदेशी पर्यटकको रोजाइमा परेको भएपनि के गर्ने ढाकाको बजार पर्यटक नै हुन् । पर्यटक आउनै छाडेपछि व्यापार पनि कम हुदै गएको उहाको धारणा छ । पर्यटक पसलमा पस्दा पाँच देखि सात हजार सम्म ढाकाका सामाग्री खरिद गर्दछन् । तर विगत एक महिना यता व्यापार नै ठप्प भएको ढाका उद्योगी मनोज पौडेल बताउनुहुन्छ् । उद्योगी पौडेलका अनुसार यो अवस्था लम्बिए उद्योगमा कार्यरत कामदारलाई ज्याला भुक्तानी गर्न समेत कठिन हुन्छ । जिल्लामा ढाका उद्योगीहरुलाई अहिलेको जस्तो सामना कहिल्यै गर्नु परेको थिएन । पर्यटक नै ठप्प भएपछि व्यापार व्यवसाय समेत ठप्प भएको छ । भाइरसका भयका कारण सदरमुकाम तानसेनमा ग्रामिण क्षेत्रबाट मानिसहरु अत्यावश्यक कामका लागी मात्र आउने गर्दछन् । जसले गर्दा फेन्सी पसलहरु समेत प्रभावित भएको व्यवासायीहरु बताउछन् । कोराना भाइरसका कारण आर्थीक क्षेत्र पूर्ण रुपले प्रभावित भएको व्यवसायीहरु बताउछन् ।








प्रतिक्रिया राख्नुहोस्