नेपालगन्जमा डेंगी नियन्त्रणका लागि लार्भा नष्ट अभियान सुरु
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले डेंगी रोगको संक्रमण रोक्नका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ। पछिल्लो समय डेंगी सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले वडा नम्बर ४ स्थित बसपार्क क्षेत्रबाट अभियानको थालनी गरेको हो।

नगर प्रमुख प्रशान्त विष्टले अभियानको सुरुवात गर्दै डेंगीबाट जोगिन सरसफाइ र सचेतनाको महत्त्वमा जोड दिनुभयो। उहाँले यो अभियानलाई २३ वटै वडामा विस्तार गरिने जानकारी दिनुभयो। उहाँका अनुसार बसपार्क क्षेत्रबाट अभियान थाल्नुको कारण त्यहाँको भिडभाड र टायर जस्ता वस्तुमा लामखुट्टेका लार्भा हुर्किन सक्ने जोखिम हो।

वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुनले वडा ४ लाई डेंगीको ‘हटस्पट’का रूपमा चिनाउँदै यस क्षेत्रमा विशेष सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार पछिल्लो तीन महिनामा नेपालगञ्ज उपमहानगरपालिकामा १९५ जना डेंगी संक्रमित भएका छन्, यसलाई नियन्त्रण गर्न सबैको हातेमालो आवश्यक छ।
अभियान सुरुवात कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेकी किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीयको उपस्थिति थियो। किटजन्य रोग फोकल पर्सन गौतमले बाँकेमा अस्वभाविक रूपमा डेंगी संक्रमण बढिरहेको बताउनुभयो। गत वर्ष देशभरि डेंगी संक्रमण घटे पनि बाँकेमा भने स्थानीय लामखुट्टेले टोकेर डेंगी फैलिएकाले सङ्क्रमणको अवस्था भयावह बनेको उहाँको भनाइ छ।






प्रतिक्रिया राख्नुहोस्