स्वर्गद्वारी नगरपालिकाको प्रशासनिक भवन शिलान्यास

प्यूठान । स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले नगरपालिकाको प्रशासनिक भवनको आज यहाँ शिलान्यास गर्नुभएको छ ।
कूल १० रोपनी जग्गामा रु ६ करोड ५८ लाख २७ हजार ५०० को लागतमा आगामी तीन वर्षभित्र निर्माण हुने उक्त दुईतले भवनमा बत्तीस कोठा रहने नगरपालिकाले जनाएको छ । महिलाका लागि छुट्टै स्तनपानकक्ष र अपाङ्गतामैत्री निर्माण हुने सो भवनमा पशु शाखा, कृषि शाखा, प्रशासनिक कोठा, महिला पुरुषका लागि शौचालय हुने छ । भवन निर्माणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले रु ८० लाख बजेट विनियोजन गरिएको छ ।
सो अवसरमा नगरप्रमुख क्षेत्रीले नगरपालिकाले पूर्वाधार र विकासका हरेक क्षेत्रमा तीव्र विकास गर्दै समृद्ध नगरको परिकल्पनाका साथ अघि बढेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख गोमा रेग्मी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्य, पालिका कर्मचारी, सरोकारवाला निकाय, स्थानीयवासीको सहभागिता थियो । निर्माण हुन लागेको भवनका लागि करिब रु तीन करोडको जग्गा स्थानीय बासिन्दा र सहकारीले नगरलाई दान दिएका थिए ।
वडा नं ९ को भवन पनि शिलान्यास
कूल ५ रोपनी जग्गामा रु ४२ लाख पाँच हजारको लागतमा चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने गरी वडा नं ९ वडा कार्यालय भवनको वडाध्यक्ष नरबहादुर बीएमले शिलान्यास गर्नुभएको छ ।
पाँच कोठासहित निर्माण हुने सो भवनका लागि स्थानीयवासीले करिब रु २० लाखको जग्गा दान गरेका छन् । यसअघि वडा नं १, ४ र ५ ले भने आफ्नै भवन निर्माण गरेर सोही भवनबाटसेवा दिँदै आएका छन् भने वडा नं १ को कार्यालयका लागि पनि केही दिनमै शिलान्यासको तयारीमा रहेको नगरप्रमुख क्षेत्रीले बताउनुभयो । स्थानीयवासीले दिएको जग्गामा रु १० लाख लागतमा वडा नं १ को कार्यालय भवन निमार्णको तयारी भएको उहाँको भनाइ छ । नगरपालिकाभित्र वडा नं ६ र वडा नं ७ भने हाल भाडाकै कार्यालयमार्फत सेवा दिँदै आएको उहाँको भनाइ छ । आफ्नै कार्यालयमार्फत जनतालाई सेवा दिँदा थप प्रभावकारिता बढ्ने नगरप्रमुख क्षेत्रीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्