तपाईँ सुन्दै हुनुहुन्छः

तिहारमा पनि उत्साहित छैन माटोका भाँडा बनाउने कसगर समुदाय

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–८ स्थित एमपी स्कुल रोडमा कसगर समुदायको बाक्लो बसोबास छ । पुर्ख्यौली रुपमा माटोका भाँडा बनाउने र विक्री गर्ने पेशा अङ्गाल्दै आएको यो समुदाय पछिल्लो समय भने सन्तुष्ट देखिँदैन । प्लास्टिक र फाइबरका भाँडाले बजार ओगटेपछि पेट पाल्नै सङ्घर्ष गरिरहेको उनीहरू बताउँछन् । यो बस्तीमा ३०-३५ घरपरिवारको गुजारा नै यही पेशा हो । तर, अफसिजनमा मजदुरी नगरे खानै नपुग्ने अवस्था छ ।

पप्पु कसगर कालीगढ पनि हुनुहुन्छ । सिजनमा माटोका भाँडा बनाउन उहाँलाई भ्याइनभ्याई हुन्छ । वर्षमा चार महिना मात्र भाँडा बनाउन सकिने पप्पु बताउनुहुन्छ । ‘चैत(वैशाख र असोज(कार्तिकमा मात्र भाँडा बनाउन सकिन्छ’ पप्पुले भन्नुभयो -‘चिसो समय र बर्खामा सम्भव नै छैन ।’ उहाँले बनाएका भाँडा सुर्खेत, दाङ, जाजरकोटसम्म पुग्छन् । तर, मेहनत अनुसारको कमाई नभएको पप्पुको गुनासो छ ।

अहिले दीपावलीका कारण पप्पुको व्यस्तता भने केही बढेको छ । तर, उत्साह विगतको जस्तो छैन । अहिले पाला, खुत्रुके, कलश, भुर्कीको फाट्टफुट्ट अर्डर आइरहेको छ । बिहान ६ बजेदेखि राती ९ बजेसम्म उहाँ भाँडा बनाउनुहुन्छ । तर, पछिल्लो समय विक्री नै निकै कम हुन थालेपछि उहाँ चिन्तित हुनुहुन्छ ।

तिहारको मुखमा उत्साहित देखिनुपर्ने शेरु कसगर पनि निराश मुद्रामा भेटिनुभयो । ४०(५० वर्षदेखि गर्दै आएको कर्मले खान लाउन समेत नपुग्ने अवस्था आएपछि शेरु उदास हुनुहुन्छ । पहिलेपहिले माटो पनि निःशुल्क पाइने गरेकोमा अहिले एक टेक्टर ट्रलीको ८ हजार रुपैयाँ पर्दछ । माटोमा पनि स्थानीय सरकारले सहजीकरण गरिदिए सजिलो हुने उनीहरू सुनाउँछन् । सरकारले आफूहरूको पेशा सङ्कटमा परिरहँदा समेत वास्ता नगरेको कसगर समुदायको गुनासो छ ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले नेपालगन्जमा माटोका भाँडा बनाएर विक्री गर्दै आइरहेका कसगर र कुमाल समुदायको आर्थिक उपार्जनको पाटोलाई मजबुत बनाउने नीति लिएको बताउनुभयो । यसै आर्थिक वर्षमै केही घरपरिवारलाई छनौट गरेर रु. ५० हजार बराबरको भाँडा बनाउने मेसिन सहयोग गर्ने तयारीमा रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button