रुसमा सेना पठाउने उत्तर कोरियाली तयारीले सियोल र नेटो चिन्तित
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले उत्तर कोरियाले रुसमा सेना पठाउन गरेको तयारी बारे चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियाको समाचार एजेन्सीका अनुसार प्योङयाङ र मस्को बिचको सैन्य सहयोग बारे संयुक्त प्रतिक्रियासहित छलफल गर्न नेटो महासचिव मार्क रुट र युन बीच फोन वार्ता भएको थियो ।
युक्रेनमा रूसको सैन्य कारबाही तथा रुस र उत्तर कोरियाबिचको मामला “इन्डो–प्यासिफिक क्षेत्र र एटलान्टिक क्षेत्रको सुरक्षासँग जोडिएको पुनः एकपटक पुष्टि हुने युनले वार्तामा बताउनु भएको छ ।
जसले अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पारी कोरियाली प्रायद्वीप र विश्वव्यापी शान्ति खतरामा पार्नेसमेत उहाँले उल्लेख गर्नु भएको छ ।
नेटो र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यमा यसको प्रतिक्रिया खोज्ने आशा व्यक्त गर्दै युनले दक्षिण कोरियाले प्योङयाङ र मस्कोबिचको सैन्य सहयोगको विरुद्ध सक्रिय रही “चरणबद्ध उपायहरू“ अवलम्बन गर्ने बताउनु भयो ।
वार्ताका क्रममा रुटले उत्तर कोरियाले रुसमा सेना पठाउने निश्चित गरेको “गम्भीर चिन्ता“ व्यक्त गर्दै, यो निर्णयले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूको खुल्लमखुल्ला उल्लङ्घन गरेको बताउनु भएको छ ।
उहाँले रुस र उत्तर कोरियाबिचको सैन्य सहयोगको जवाफ दिन दक्षिण कोरियालाई सक्रिय रूपमा सहयोग गर्न नेटो तयार रहेको कुरामा जोड दिँदै दक्षिण कोरिया, युक्रेन र नेटोबिच रक्षा सहयोग र सुरक्षा संवादलाई सुदृढ पार्ने आशा व्यक्त गर्नु भएको छ ।
दुवै पक्षले प्रविधिको प्रयोगसहित रुस र उत्तर कोरियाबिचको सहकार्यको घटनाक्रमलाई नजिकबाट निगरानी गर्न र संयुक्त प्रतिक्रिया गर्न सहमत भएका छन् ।
दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले शुक्रबार उत्तर कोरियाले युद्धमा रुसलाई सहयोग गर्न करिब १२ हजार सेना पठाउने निर्णय गरेको तथा एक हजार ५०० सय सेना रुसको सुदूर पूर्वमा पठाएको जनाएको थियो ।
रासस/क्यूएनए







प्रतिक्रिया राख्नुहोस्