तपाईँ सुन्दै हुनुहुन्छः

मेची अञ्चलकै पुरानो गुम्बा प्रचार–प्रसारको अभावले संकटमा

पाँचथर । पाँचथर जिल्लामा रहेको मेची अञ्चलकै सबैभन्दा पुरानो आगेजुङ साङ्छयो गुम्बा प्रचार–प्रसारको अभावले संकटमा परेकोे छ । वि.स.२०१५ सालमा लामा दोर्जे लाङठोलले यो गुम्बा स्थापना गर्नुभएको हो । गुम्बाले २०१८ सालबाट औपचारीक रुपमा लामा उत्पादन समेत गर्न थालेको थियो । गुम्बाले हजारौं लामाहरु उत्पादन गरेको छ । गुम्बा स्थापना गरेका लाङठोलको देवाहसान पछि २०४९ सालबाट उनका छोरा लामा तेन्जिङ शेर्पाले दैनिक पुजा पाठ गर्दै आएका छन् । १०१८ सालबाट लामा उत्पादन गर्दै आएको गुम्बामा द्वन्द्वकाल देखि बौद्ध शिक्षा रोकिएको लामा तेन्जिङ शेर्पाले बताएका छन् । द्वन्द्वकालको समयमा सुरक्षाको जोखिम बढेपछि बौद्ध शिक्षा दिन छाडिएको उनको भनाई छ ।

भौगोलिक हिसावमा समेत यो गुम्बा निकै सुन्दर ठाउँमा अवस्थित छ । यो गुम्बा बौद्ध धर्मावलम्बीहरूको ऐतिहासिक स्थलसमेत हो । फालेलुङ गाउँपालिका–१ लसुनेमा अवस्थित यो गुम्बा याङवरक र हिलिहाङ गाँउपालिकाको संगम स्थलमा छ । करिव ३५ रोपनिमा फैलिएको गुम्बा परिसर सम्म हाल सडक सञ्जाल समेत विस्तार गरिएको छ । व्यक्तिगत लगानीबाट स्थापना गरिएको यो गुम्बाको संरक्षणको बारेमा सरकारले खासै चासो नदिएको लामा तेन्जिङको भनाई छ । भक्तजन र दाताको सहयोगबाटै सञ्चालित यो गुम्बाको संरक्षणमा राज्यको कुनै निकायले चसो नदिँदा संकटमा परेको उनको भनाई छ ।

बौद्ध धर्मावलम्बीहरूको विशेष चाडपर्वका अवसरमा यस गुम्बामा देश विदेशका हजारौँ लामाहरु जम्मा हुने गरेका छन् । द्वन्द्वकालमा विविध समस्याका कारण बन्द गरीएको बौद्ध शिक्षा पुनः सुरु गर्न आवश्यक रहेको उनको भनाई छ । व्यक्तिगत लगानीबाट शिक्षा दिन असम्भव रहेको समेत उनी बताउँछन् । लामा उत्पादनका लागि शिक्षक चाहिने भएकाले शिक्षकलाई व्यवस्थित गर्न गुम्बाको कुनै स्रोत साधन नभएको लामाले बताउनुभयो । लामा उत्पादन गर्न सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाई छ । प्रचुर पर्यटकीय सम्भाव्यता बोकेको गुम्बालाई संरक्षण र प्रचार प्रसार गर्न सके ठुलो संख्यामा पर्यटक भित्र्याउन सकिने नेपाल तामाङ्ग घेदुङ्ग पाँचथरका अध्यक्ष जंग तामाङ्गकोे भनाई छ । मेचि राजमार्ग अन्तर्गत हिलिहाङ गाँउपालिकाको जोरपोखरीबाट करीब १ घण्टाको पैदल यात्रामा गुम्बा पुग्न सकिन्छ । गुम्बा रहेको स्थानबाट बाह्रैमास सेताम्बे देखिने कुम्भकर्ण, कञ्चनजंघाको सुन्दर दृष्यावलोक गर्न सकिन्छ । पूर्वकै प्रमुख धार्मिक स्थल पाथिभरा, पर्यटकीय स्थल चिवाभञ्जाङको हरियाली सुन्दर दृष्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button