पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरू’ बेल्जियममा बिमोचन

काठमाडौँ । लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरू’को आइतबार बेल्जियममा बिमोचन गरिएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारी, गैर आवासीय नेपाल सङ्घ बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतका अतिथिहरूले पुस्तकको बिमोचन गर्नुभयो ।
राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकासमा ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो । पुस्तक युरोपका नेपालीहरूको दस्ताबेजका रुपमा रहने भएकाले पनि इतिहास बन्ने उहाँको भनाइ थियो ।
राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, सङ्घर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरूले कसरी विश्व सामु फैलाइ रहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवाद सहित शुभकामना दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति(रासस)का संवाददाता समेत रहनुभएका लेखक गौतमले पुस्तकमा मुलुक बाहिर रहेकाहरूको जीवन्त कथा लेख्ने प्रयास गरिएको बताउनुभयो ।
उहाँले करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा बिमोचन गर्ने अवसर पाएकोमा अनेसासप्रति आभार व्यक्त गर्नुभयो ।
पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरूको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति, पारिवारिक अवस्था, वैदेशिक सङ्घर्षलगायतका कथा समावेश गरिएको छ ।
एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरूले धेरै चुनौतीका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेकोमा धन्यवाद दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविष्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरूका कथाहरू सङ्कलन गरेकामा पत्रकार गौतमप्रति आभार प्रकट गर्नुभयो ।
त्यसअवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तकमाथि टिप्पणी गर्दै यसले युरोपभित्रका अधिकतम देशका विभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिनुभयो ।
अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले पुस्तकमाथि टिप्पणी गर्दै निकै सङ्घर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताउनुभयो ।
अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरूको सङ्घर्षको अन्तरकथा तयार पारी विमोचनका लागि अनेसासलाई अवसर दिनुभएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जनसम्पर्क समिति बेल्जियमका उपसभापति बिराट जोशीलगायतले कृति सफलताको शुभकामना व्यक्त गर्नु भयो । रासस






प्रतिक्रिया राख्नुहोस्