सौर्य ऊर्जा प्रणाली निर्माणको काम अन्तिम चरणमा
नुवाकोट । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने गरी काम अन्तिम चरणमा पुगेको छ ।
ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको हो ।
आयोजनाको कूल २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत् आगामी वैशाखभित्र उत्पादन गर्ने गरी काम भइरहेको छ । यस्तै थप १० मेगावाटका लागि भने जग्गा छनोट तथा अन्य प्राविधिक काम जारी रहेको छ ।
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रका नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन गर्ने गरी व्यवस्थापन गरिएको छ ।
विद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र विद्युत् गृह नजिक रहेका तीन ठाउँमा पाँच मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । एउटा प्यानलबाट २७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।
विश्व बंैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग करिब चार अर्ब (तीन करोड ८० लाख अमेरिकी डलर) मा ठेक्का सम्झौता गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्