नेपाली सेनाको श्रीदल गुल्मद्वारा आगलागी सम्बन्धी नमुना अभ्यास
कञ्चनपुर । कञ्चनपुर स्थित नेपाली सेनाको श्रीदल गुल्मले आगलागी सम्बन्धी नमुना अभ्यास तथा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी तालिम कार्यक्रम गरेको छ ।
श्रीदल गुल्म भगतपुर ब्यारेकबाट बिहीबार बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित सिंहपाल आधारभूत विद्यालयको प्राङ्गणमा आगलागी हुँदा कसरी आगो नियन्त्रण गर्ने, कसरी उद्धार गर्ने र घाइतेहरूको कसरी प्राथमिक उपचार गर्ने लगायतका नमुना अभ्यास गरिएका हुन् ।
साथै उक्त कार्यक्रममा श्रीदल गुल्मका गुल्मपति सेनानी उत्तम खड्काले विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिका र श्रीदल गुल्मले जिम्मेवारी क्षेत्र कञ्चनपुर जिल्लामा विपद् सम्बन्धी गरेका कार्यहरूका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले आगलागी एक्कासी हुने भएकोले सुरक्षा निकाय वा प्रशासनलाई समयमै जानकारी गराउन सकेमा ठुलो क्षति हुनबाट बचाउन सकिने सम्भावना बढी रहने बताउनुभयो ।
उक्त कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, बेलडाँडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नारद अर्याल र बेलडाँडी ५ का वडाध्यक्ष इन्द्र बहादुर खड्का, पत्रकार, शिक्षक, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासी, विद्यार्थी समेत गरी करिब दुई सय जनाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्