ललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने

पाटन (ललितपुर)। ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ ।
कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन जोनसहितको प्रतिनिधिमण्डलको स्वागतमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा आज आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण र कृषि क्षेत्रमा भएका सकारात्मक अभ्यास आदानप्रदान गर्न चाहना व्यक्त गर्नुभयो ।
नगरप्रमुख महर्जनले चेरवन सहर र ललितपुर महानगरबिचको भगिनी सम्बन्धले नेपाल र कोरियाबिचको दाैँत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । एक महिनाअघि महानगर प्रमुख महर्जन चेरवन सहरको निमन्त्रणमा भगिनी सम्बन्ध कायम गर्नका लागि त्यहाँ जानुभएको थियो ।
चेरवनका मेयरसहितको प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुँदै ललितपुर महानगरप्रमुख महर्जनले कृषि र वातावरणको क्षेत्रमा चेरवनबाट ललितपुरले असल अभ्यासहरू सिक्न सक्ने बताउनुभयो । “कृषि र वातावरणको क्षेत्रमा हामी चेरवनको असल अभ्यासहरू सिक्छौँ । हस्तकला र सम्पदा क्षेत्रमा हाम्रा असल अभ्यासहरू चेरवन सहरलाई हस्तान्तरण गर्न चाहन्छौँ, यो हामी दुवै पक्षका लागि प्रभावकारी हुनसक्छ”, उहाँले भन्नुभयो ।
चेरवन सहरका प्रमुख ली ह्युन जोनले ललितपुर महानगरसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले कृषि, पर्यावरण प्राथमिकतामा रहेको भन्दै नेपालीहरूको सद्भावको शैलीबाट आफू प्रभावित भएको बताउनुभयो ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले चेरवन सहरसँग भगिनी सम्बन्ध कायम भएकामा खुसी व्यक्त गर्दै दुई सहरबिचको भिन्नता र एकतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अघिल्लो वर्ष कोरिया भ्रमण गर्दा कृषि र पर्यावरणको क्षेत्रमा भएका सकारात्मक कामबाट आफू प्रभावित भएको बताउनुभयो । “यी दुई क्षेत्रमा महानगरले धेरै सिक्नु छ, हालै कायम भएको भगिनी सम्बन्धले त्यसलाई मार्ग प्रशस्त गरेको छ”, उहाँले भन्नुभयो ।
चेरवन सहरका उपाध्यक्ष जाङ योङले ललितपुरको आवश्यकता र मागबारे जानकार हुन भ्रमण तय गरेको प्रस्ट पार्नुभयो ।
ललितपुर महानगरका प्रवक्ता तथा वडा नंं ९ का वडाध्यक्ष राजु महर्जनले दुई सहरबिचका असल अभ्यास आदानप्रदान गर्नुपर्ने धारणा राख्दै रोजगारी सिर्जना गर्न ‘स्टार्टअप’लाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले दुई सहरबीच भगिनी सम्बन्ध कायम भइसकेको अवस्थामा नागरिकले अनुभूत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
चेरवन सहरका कृषि प्रविधि विभागका निर्देशक ली हुङजोङले कृषि क्षेत्रमा के र कसरी सहयोग गर्न सकिन्छ त्यस बारेमा अध्ययन गरी छलफल गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं २० का वडाध्यक्ष चन्द्रलाल महर्जन, वडा नं-१२ का वडाध्यक्ष नारायणलाल अवाले, वडा न-२७ का वडाध्यक्ष कृष्णहरि महर्जन, वडा न-२६ का वडाध्यक्ष सुरेश महर्जनले ललितपुर महानगरभित्र कृषि क्षेत्रमा उल्लेख्य सम्भावना रहेको बताउँदै कोरियाको प्रविधि भित्र्याएर उत्पादन बढाउनुपर्ने धारणा राख्नुभयो ।
महानगरका कृषि सल्लाहकार धर्म महर्जनले ललितपुर महानगर मात्रै नभएर प्रविधिका कारण नेपाल पछि परेको तर्क गर्दै कोरियाको प्रविधि ललितपुर भित्र्याएर उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कोरियाको प्रविधि प्रयोग गरेर फलफूल र तरकारी उत्पादन गर्ने एउटा नमूना कृषि फर्म बनाउनुपर्छ ।”
ललितपुर महानगरमा कृषिको अध्ययन अनुसन्धान र सम्भावना खोजी गर्नका लागि कोरियाको चेरवन सहरका प्रमुख जोनसहितको प्रतिनिधिमण्डल ललितपुर आएको हो । ललितपुर महानगर र छिमेकी पालिकामा सञ्चालित कृषि फर्महरूको अवलोकन गर्ने, त्यहाँका उत्पादनहरूका बारेमा छलफल गर्नेछ । एक साता लामो भ्रमणका लागि यहाँ आउनुभएका जोनसहितको टोलीले कृषि मन्त्री तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ । रासस







प्रतिक्रिया राख्नुहोस्