सुर्खेतमा सर्जिकल माक्सको अभाव

सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा सर्जिकल माक्सको कृत्रिम अभाव शुरु भएको छ । सरकारी एजेन्सीहरुले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेसँगै विद्यालयदेखि सर्वसाधारणसम्ममा माक्सको माग बढेपछि बजारमा कृत्रिम अभाव शुरु भएको हो ।
कालाबजारियाले महँगोमा माक्स बेच्न थालेको जन गुनासो आएपछि शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा संयुक्त बजार अनुगमन समितिले वीरेन्द्रनगर बजार क्षेत्रका माक्स विक्रेताकहाँ अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सर्जिकल माक्ससँगै सामान्य माक्स समेतको अभाव रहेको पाईएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गा श्रेष्ठले बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा माक्सको माग बढेसँगै केही व्यापारीले कृत्रिम अभाव सृजना गर्न सक्ने भएकाले अनुगमन गरिएको जनाउनुभयो । उहाँका अनुसार पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आग्रह गरिएसँगै माक्सको माग बढेकाले बजारमा अभाव देखिएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीसमशेर रानाले बजार अनुगमनका क्रममा होलसेल बिक्रेतासँग भएको स्टँक सकिएकाले बाहिरबाट माक्स तत्काल नआउँदा कृत्रिम अभाव जस्तो देखिएको बताउनुभयो ।
यता वीरेन्द्रनगरका मेडिकल डिस्टीव्यूटरहरुमा समेत सर्जिकल माक्सको अभाव देखिएको छ ।
जिल्लामा रहेका झण्डै एक सय मेडिकलहरुमा सर्जिकल माक्स स्टकमा नरहेको नेपाल औषधी व्यवसायी संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले माग अनुसारको आपूर्ति गर्न नसकिएकाले बजारमा कृत्रिम अभावको हल्ला निराधार भएको दावी गर्नुभयो । ‘हामीले ल्याउने डिलरमै माक्स छैन । करिब एक महिनादेखि माक्स ल्याउने प्रयास गरेपनि नआउँदा मेडिकलमा माक्सको अभाव देखिएको छ,’ उहाँले भन्नुभयो ।
उता फेन्सी रेडिमेट तथा वस्तुगत समितिका अध्यक्ष खडकप्रसाद ढकालले बजारमा कपडाका माक्सहरु पनि बिस्तारै अभाव देखिन थालेको जनाउनुभयो । उहाँले एकाएक मागे बढेपछि यहाँका फेन्सी पसलहरुमा समेत बिस्तारै कपडाका माक्स सकिँदै गईरहेका बताउनुभयो । उहाँका अनुसार सुर्खेतमा कपडाका थाइ माक्स, जाली माक्ससँगै बाइकमा प्रयोग हुने माक्सहरु बजारमा बिक्री हुने गरेका छन् ।जिल्लामा झण्डै पन्ध्र सय फेन्सी व्यवसायीहरु रहेका छन् ।
यसैबीच माक्सको अभावलाई तत्काल टार्न बीरेन्द्रनगरको तातापानीस्थित ज्वालागढी बहुउद्देश्यीय उद्यम प्रालिले आफु सक्षम रहेको बताएको छ ।
प्रालिका सञ्चालक कविराज खत्रीले कर्णाली प्रदेशलाई आवश्यक मास्कको माग स्थानीय उत्पादनले नै पूरा गर्न सक्ने भएकाले माग आए हरेक प्रकारका माक्स सुलभ दरमा सुर्खेतमा उत्पादन गरेर सहज आपूर्ति गर्न सकिने दावी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्