कोल्टी अस्पतालमा आउने विपन्न नागरिकलाई २० प्रतिशत छुट

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी आधारभूत अस्पतालले नगरपालिकाभित्रका विपन्न परिवारका नागरिकहरूको उपचार समस्यालाई मध्यनजर गरेर अस्पतालमा आउने बिरामीहरूलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
बुढीनन्दा नगरपालिकाका नगरप्रमुख तथा कोल्टी आधारभूत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार बोहराको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नगरभित्रका विपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला,ज्येष्ठ नागरिक, आर्थिक रूपले विपन्न बिरामी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायतलाई कोल्टी आधारभूत अस्पतालबाट प्रदान गरिने नि:शुल्क आधारभूत स्वास्थ्य सेवा बाहेकका अन्य स्वास्थ्य सेवाहरूमा २० प्रतिशत र अस्पताल फार्मेसीबाट लिइने औषधीको शुल्कमा १० प्रतिशत छुट दिने निर्णय गरेको कोल्टी आधारभूत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी प्रेम नेपालीले बताउनुभयो ।
कोल्टी आधारभूत अस्पताल व्यवस्थापन समितिले २० प्रतिशत छुट दिएर स्वास्थ्य सेवा दिने निर्णय गरेपछि बुढीनन्दा नगरपालिका भित्रका हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक, आर्थिक रूपले विपन्न बिरामी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू लाई स्वास्थ्य सेवामा सहज हुने भएको छ।
कोल्टी आधारभूत अस्पतालमा बुढीनन्दा नगरपालिकासहित पुर्वी उत्तरी क्षेत्रका ४ स्थानीय तह र छिमेकी जिल्ला मुगु र हुम्लाका बिरामीहरू समेत उपचार सेवा लिन आउने गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्