तरकारी खेतीबाट वार्षिक ५० लाख आम्दानी

सल्यान । सिद्धकुमाख गाउँपालिका-३ ढोरचौरका ४२ वर्षीय कुलाराम रेउलेको परिवारलाई घरखर्च धान्न धौ-धौ हुन्थ्यो । गाउँमा उत्पादन भएको अन्नले वर्षभरी खान पुग्थेन । तर हिजोआज व्यावसायिक तरकारी खेतीमा लागेपछि उहाँको अवस्था बदलिएको छ ।
व्यावसायिक तरकारी खेतीमा जुटेपछि उहाँले वार्षिक ४० देखि ५० लाख सम्म आम्दानी गर्दै आउनु भएको छ । उहाँले भन्नुभयो “पुरानो खेती छाडेपछि हाम्रा दिन पनि फेरिए । वार्षिक ४०देखि ५० लाखसम्म आम्दानी हुन्छ । सबै खर्च कटाएर १६ /१७ लाख बचत भइरहेको छ ।” सुरुवातमा घरकै करेसाबारी हुँदै केही रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गर्नु भएका उहाँले अहिले ६० रोपनी जग्गामा विभिन्न जातका तरकारी, अदुवा, बेसार लगाउँदै आउनु भएको छ । विगतमा विभिन्न अभाव र दबाब झेल्दै आएका रेउले व्यवसायिक तरकारी खेतीमा लागेपछि जिल्लाकै उत्कृष्ट किसानको रुपमा परिचित हुनु भएको छ ।
विगत १६ वर्ष देखि व्यावसायिक तरकारी खेती गर्दै अखाउनु भएका कुलारामले आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेको बताउनुभयो ।
“तरकारी खेतीबाट परिवारका सात जनालाई घरमै रोजगारी मिलेको उहाँको भनाई छ । घरका सबैले यही काम गर्छौँ , बाहिरका १० जनालाई नियमित रोजगारी दिएको छु ।” उहाँले भन्नुभयो ।
तरकारी खेतीबाटै कमाइ गरेको रकमले उनले २० रोपनी जग्गा र घडेरी जोड्नु भएको छ । घर घडेरी मात्र होइन आफूले पढ्न नपाए पनि तरकारी खेतीबाट भएको आम्दानीले उहाँले तीन भाइलाई शिक्षा दीक्षा दिएर सरकारी जागिर खान योग्य बनाउनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्