शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या तेब्बरले वृद्धि
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या तेब्बरले बढेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले गैँडाको सङ्ख्यामा तेब्बरले वृद्धि भएको बताउनुभएकाे छ।
निकुञ्जमा वासस्थान राम्रो भएकै कारण गैँडाको सङ्ख्यामा वृद्धि भएको उनले बताए। निकुञ्जमा झन्डै डेढ दशकको अवधिमा तेब्बर बढीले एकसिङ्गे गैँडाको वृद्धि भएको हो। सन २००८ मा दुई पोथी, एक भाले र दुईको पहिचान नभएका गरी पाँच मात्रै रहेको गैँडाको सङ्ख्या २०२४ मा आइपुग्दा बढेर ६ थाले, १० पोथी र सात पहिचान नभएको गरेर २३ पुगेको छ।
निकुञ्जको तथ्यांकअनुसार २००८ मा पाँच, २०१३ मा दुई भाले, दुई पोथी र तीन लिङ्ग पहिचान नभएको गरेर सात, २०१५ मा एक भाले, तीन पोथी, चार पहिचान नभएको गरेर आठ, २०१८ मा चार भाले, ९ पोथी र चार पहिचान नभएको गरेर १७, २०२१ मा तीन भाले, चार पोथी, पाँच पहिचान नभएको गरेर १७, २०२२ मा चार भाले, सात पोथी र ९ पहिचान नभएको गरेर २० र २०२४ मा ६ भाले, १० पोथी, सात पहिचान नभएको गरेर २३ पुगेको हो।
अन्तिम वर्ष २०८० को फागुन ५ देखि २२ सम्म पहिचानमा आधारित एकसिङ्गे गैँडाको गणना गरिएको थियो। गैँडाको वासस्थान क्षेत्रमा ब्लकमा प्रत्येक एक÷एक सय मिटरको दूरीमा भौगोलिक सूचना प्रणाली जिपिएस, रिसिभर, युनिट, दूरबिन, वाकीटाकी, एन्ड्रोइड, मोबाइल फोन, क्यामेरालगायतका उपकरणसहित प्राविधिक हात्तीमा बसेर स्विप गर्दै प्रत्यक्ष गणना विधिबाट गैँडा गणना गरिएको थियो।
शुक्लाफाँटा निकुञ्ज संरक्षणको जिम्मा नेपाली सेनाले पाएको छ। २०२६ सालमा सिकार आरक्षको रूपमा स्थापना गरिएको शुक्लाफाँटा २०३२ मा वन्यजन्तु आरक्ष र २०७३ सालदेखि राष्ट्रिय निकुञ्जमा घोषणा गरिएको थियो। शुक्लाफाँटा निकुञ्ज ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।
प्रतिक्रिया राख्नुहोस्