तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको फलेवासमा श्रमिक कल्याणकारी कोष

पर्वत ।  पर्वतको फलेवास नगरपालिकाले श्रमिक कल्याणकारी कोष सञ्चालन गरेको छ ।

विपन्न र कम आय भएका श्रमिकको निश्चित रकम कोषमा जम्मा गर्ने र नगरपालिकाको तर्फबाट पनि कोषमा निश्चित रकम जम्मा गरेर श्रमिक परिवारलाई ६० वर्ष पछि उपदानको रुपमा फिर्ता गर्ने गरि कोष स्थापना गर्ने नयाँ कार्यक्रम शुरु गरिएको हो ।

नगरपालिकाले कोष स्थापनाका लागि पहिलो चरणमा तथ्यांक संकलन गरि त्यसमध्ये १० प्रकारका श्रमिकलाई कार्यक्रममा समाबेश गराउने छ । सडक निर्माणमा खटिने श्रमिक, ज्यामी, आरन व्यवसायी, छालाका जुत्ता बनाउने व्यवसायी, सिलाई, कटाई तथा लघु एवं साना उद्यमी , पुरोहित , बाजा बजाउने दलित समूदाय, सुनका गहना बनाउने ज्यामी , डकर्मी , सिकर्मी लगायतलाई पहिलो चरणमा कोषमा आबद्ध गराउने लक्ष्य रहेको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । यो आर्थिक वर्ष ५ सय जनालाई कोषमा समेट्ने लक्ष्य लिईएको उहाँले जानकारी दिनुभयो ।

श्रमिकलाई भविष्यमा पर्ने आवश्यकतालाई मध्यनजर गर्दै कोषको अवधारणा शुरु भएको शर्माले बताउनुभयो ।
श्रम गर्न नसक्ने बेला भएको बेला संकलित रकम कोष बाट फिर्ता हुने भएपछि उनीहरुको जीवनमा अप्ठ्यारो पर्दा सहज हुने शर्माले बताउनुभयो ।

न्यून आर्थिक उपार्जन गर्ने र दिनभरि श्रम गरेर छाक टार्ने बर्गलाई उनीहरुले आर्जन गर्ने दैनिक ज्यालाबाट दैनिक १० रुपैयाँ देखि १ हजार रुपैयाँसम्म रकम कोषमा बचत गर्ने र नगरले पनि कोषमा ६० वर्ष पछि कुल जम्मा भएको रकममा ७५ प्रतिशत थप गरि उपदानको रुपमा लाभग्राहीलाई रकम फिर्ता गर्ने गरि कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । निजामती कर्मचारी, प्रहरी, पेन्सन पाउँदै आएका पूर्व कर्मचारीहरु र वैदेशिक रोजगारीमा गएकाहरु भने उक्त कोषमा समाबेश हुन नपाउने उहाँले जानकारी दिनुभयो ।

श्रमिक कल्याणकारी कोष सन्चालन गर्दा नगरपालिकालाई ६ सय घरधुरी भएमा एक बर्षमा १८ लाख १२ सय घरधुरी समाबेश भएमा ३६ लाख र अधिक बचत भएमा ५४ लाख र मासिक ३ सय अनिवार्य बचत गरेमा १२ सय घरधुरीलाई बर्षमा एक करोड ८ लाख रकम ब्ययभार नगरपालिकालाई पर्ने आकंलन गरिएको नगरपालिकाका योजना व्यवस्थापक देबिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँले गरिवी निवारण र श्रमिक कल्याणका लागि सामाजिक सुरक्षामा आधारित यो नौलो अभ्यास नगरपालिकाले शुरु गरेको बताउनुभयो ।

कार्यक्रम शुरु भएपछि श्रमिकहरु उत्साहित भएको तिमिल्सिनाले दाबी गर्नुभयो । नगरपालिकाले ११ वटै वडामा पहिलो चरणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ भने कार्यक्रम कार्यान्वयनका लागि लाभग्राहीहरुको फारम भर्ने र संकलन गर्ने कार्यक्रम शुरु गर्न थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button