कोशी प्रदेश स्तरीय सलोनी टि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
झापा । झापाको भद्रपुरस्थित मेची रंगशालाको कभर्ड हलमा सञ्चालित कोशी प्रदेश स्तरीय सलोनी टि कप ब्याडमिन्टन प्रतियोगिता आज सकिएको छ ।

प्रतियोगिताअन्तर्गत पुरुष भेट्रान्स डबल्सतर्फको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले उचालेको छ ।
त्यस्तै, खुला पुरुष डबल्सतर्फको उपाधि पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडीले जितेको छ ।
भेट्रान्सतर्फ फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिम्खडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् ।
सुरुवाती सेटमा १४–२१ को अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा २१–१७ र २१– १४ को पराजय भोगेपछि खापुङ र सिंखडा दोस्रोमा सीमित भए ।
उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र चौधरीले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाए । उपविजेता बनेका खापुङ र सिंखडाले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालले बताउनुभयो ।
यसैबीच, पुरुष खुला डबल्सतर्फको फाइनलमा गुरुङ र ठकुरीको जोडीले सङ्खुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई सोझो सेटमा हराए । पहिलो सेट प्रतिस्पर्धात्मक भए पनि दोस्रो सेटमा सम्हालिन नसक्दा कार्की र खड्का उपाधिबाट चुके ।
गुरुङ र ठकुरीको जोडीले २३–२१ र २१–१८ को रिजल्ट निकाल्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै उनीहरूले नगद ५० हजार, ट्रफी र मेडल पाए । उपविजेता भएका कार्की र खड्काको जोडीले नगद ३० हजार ट्रफी र मेडलमा चित्त बुझायो ।
विजेतालाई प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक राजेश उप्रेती, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, संघका अध्यक्ष दिपेश ढकाल लगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्