तपाईँ सुन्दै हुनुहुन्छः

भिइ गाउँमा नवमीको रौनक: प्रख्यात गुरा देवताको पूजा गरिँदै

मुगु । मुगुको गमगढी बाट उत्तर पश्चिम दिशामा पर्ने सोरु गाउँपालिका स्थित भिई गाउँमा गुरा देउताको नवमी मेला बिहीबार देखि शुरु भएको छ ।

करिब १३ औँ शताब्दी अघि देखि भिई गाउँमा गुरा देउताको नवमी मेला प्रारम्भ हुँदै आएको वडाअध्यक्ष सिंहबहादुर धामीले बताउनु भयो । देउताको नवमी मेलालाई भव्य सभ्य गर्न वडा कार्यालयले युवालाई स्वयम सेवकको रुपमा परिचालन गरेको छ । दुई दिन सम्म सञ्चालन हुने नवमी मेला हेर्न विभिन्न गाउँ बस्तीबाट धामी डाङग्री सहित भक्तजनको घुइँचो लाग्ने गरेको छ । हिजो आज भीईका ८ वटा गाउँहरूमा नवमी मेलाले गर्दा मानिसहरूको चहलपहल निकै बढेको छ । स्थानीय पहिरनमा गाउँका महिला पुरुष युवायुवतीहरू चिटिक्क देखिने गरेका छन् ।

भीई गाउँका स्थानीयले घर आँगन सेतो र रातो माटोले लिपपोत गरि टल्काएका छन् । मेला हेर्न आएका भक्तजनलाई खान बस्न सुत्न ब्याबस्था मिलाइएको छ । नवमी मेलामा महिला पुरुष युवायुवतीले रातभर देउडा खेलेर रमाइलो गर्ने र बिहानीपख गुरा,समइजु, काले भवानी लगायत धामी झाँक्रीमा देउता चढी आ-आफ्नो चर्तिकला देखाइ नाच्ने गर्दछन् । मेलामा सबै भन्दा उत्कृष्ट हेर्न लायक दमाहा बाजा देखिने गरेका छन् । तीन दर्जन भन्दा बढी दमाहा बाजाहरू जम्मा हुने र पहिलो दिन दमाहा बाजाको प्रतिस्पर्धा हुने गरेकोले नवमीको रौनकनै फरक देखिन्छ ।

नवमी मेलामा विभिन्न खेलकुद कार्यक्रम पनि सञ्चालन गर्ने गरिएको छ । यो चोटि पनि खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिएको छ । गाउँ गाउँबाट युवाहरूका समूहहरूले फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

गुरा देउतालाई भाकल पुरा गर्न र चिताएको मनोकाङ्क्षा पुरा होस भन्ने हिसाबले टाढा टाढा बाट भक्तजन नवमी मेलामा गुरा देउताको दर्शन गर्न आउने गरेका गर्छन् । गुरा देउतालाई बोका,घण्ट,अक्षता चढाएर मनोकाङ्क्षा पुरा हुने विश्वास रही आएको छ ।गुरा देउतालाई मुख्य गरि भूमिका देउताका रुपमा मानिसहरू पुज्ने गर्दछन् ।

गुरा देउताकोमा चढेको जग्गा भन्दै देउतालाई सिख भनेर यो बेला गाउँ गाउँ र विभिन्न जिल्लाहरूबाट भक्तजनहरू आफ्ना खेत गरामा फलेका अन्न,फलफूल,तरकारी,मसलाबाली चढाउन पनि पुग्ने गरेका छन् । गुरादेउतालाइ खुशी पार्न सके अन्नबाली राम्रो उत्पादन हुने भनी किसानहरू विश्वास गर्ने गर्दछन् । यो चालु आर्थिक वर्षमा संघीय सरकारबाट भीई गुरा देउताको ऐतिहासिक मन्दिर जीर्णोद्धारको निम्ति बजेट ब्याबस्था गरिएको छ ।

जिल्ला सदरमुकाम गमगढीबाट भीई गाउँमा पुग्न जीप मोटर साइकलद्वारा करिब ४ घण्टा समय लाग्ने गर्छ । गाउँसम्मै सडक पुगेपछि भिइ गुरा देउताको नवमी मेला हेर्न जान भक्तजनलाई सहज भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button