तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रज्ञा-प्रतिष्ठानकाे गठन प्रक्रिया सुरु, संस्कृति र सभ्यतालाई जोगाइराख्न सहकार्य गर्छौँ: मुख्यमन्त्री आचार्य 

बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रज्ञा-प्रतिष्ठानकाे गठन पक्रिया सुरु गरेको छ  । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया सुरु गरेको जानकारी दिनुभएको छ ।शनिबार बुटवलमा भएको प्रज्ञा-नारी काव्य सङ्गोष्ठी २०८१ को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्य प्रदेश सरकारले प्रज्ञा-प्रतिष्ठान गठनको लागि विधेयक तयार पारेर प्रदेश सभामा लगेर कानुनी आधार तयार पारिने बताउनु भयो । “लुम्बिनी प्रदेशको कला, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकारले प्रदेश प्रज्ञा-प्रतिष्ठान गठन गर्छ । यसबाट प्रदेशको कला, साहित्य, संस्कृतिको विकासमा योजना बनाएर काम अघि बढ्छन् ” । मुख्यमन्त्री आचार्यले भन्नुभयो “कला, साहित्य, संस्कृतिको जगेर्ना गरेर समाज विकास र रुपान्तरणको अभियानमा अघि बढ्न सकिन्छ ।” साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न नसक्दा समाजले क्षति व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सबैको चिन्ता र चासो हुनुपर्ने धारणा राख्नुभयो । लुम्बिनी प्रदेश साहित्यको उर्वर भूमि रहेको, धेरै साहित्य अनुरागी, स्रष्टाहरूको योगदानलाई संरक्षण गर्न खोज अनुसन्धान गरेर प्रतिवेदनहरूको दस्तावेजीकरण गर्न आग्रह गर्नुभयो । कला, साहित्य, संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धन गर्न प्रदेश सरकारले सहकार्य गर्ने, सबै साहित्यकारहरू लाई उत्साहित बनाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य(काव्यपद्य) विभाग र लुम्बिनी वाङ्मय प्रतिष्ठानको सहकार्यमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रज्ञा(नारी काव्य सङ्गोष्ठी २०८१ आयोजना गरिएको छ । प्रदेशका १२ जिल्लाका साहित्य अनुरागीहरूको विशेष उपस्थितिमा भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले साहित्य क्षेत्रको विकासको लागि प्रदेश तहहरूमा प्रज्ञाप्रतिष्ठान निर्माण गरेर जान सकिने, यस तर्फ प्रदेश सरकारले अघि बढाउने योजनामा सहकार्य गर्ने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले समाज रूपान्तरण र जागरणका लागि साहित्य क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्नुभयो । लुम्बिनी वाङ्मय प्रतिष्ठान लुम्बिनीका उपाध्यक्ष  सृजना ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले संस्कृति र सभ्यताको वाहक साहित्य क्षेत्र भएको बताउनु भयो । कार्यक्रममा भगवती पाण्डे अर्यालले कार्यपत्र प्रस्तुत गर्दै १२ जिल्लाको अवस्थाको चित्रण गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button