तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तर तथा नापतौल कार्यालय झापाको राजश्वमा दोब्बर वृद्धि

भद्रपुर, झापा । गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/०८१ मा ५८ लाख ४५ हजार ८५५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आ. व. २०७९/०८० को तुलनामा यो २०२.३९ प्रतिशतले बढी हो ।

कार्यालयका प्रमुख सुनिलकुमार यादवका अनुसार आव २०७९/०८० मा २८ लाख ८८ हजार ३५३ रुपैयाँ राजश्व सङ्कलन भएको थियो । 

विगतका वर्षभन्दा नाप्ने–तौलने यन्त्रको नयाँ अनुमतिपत्र लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि, र जरिवाना तिर्नेहरूको सङ्ख्या बढ्दा राजश्व बढेको कार्यालय प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार आव २०८०/०८१ मा नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोगका लागि एक हजार ५२६ नयाँ अनुमतिपत्र प्रदान गरिएको, २२ वटाको इजाजतपत्र नवीकरण, नाप्ने तौलने यन्त्र जाँच गराउने व्यवसायीहरूको सङ्ख्या दुई हजार नौ सय आठ थियो ।

साविक मेची अञ्चलको चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र रहेको गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरले गत आवमा दुई हजार ६३५ थप शुल्क तथा जरिवाना तिर्ने व्यवसायी रहेको जनाएको छ ।

कार्यालयले ३१ पटकमा २३३ वटा फर्मको एकल अनुगमन गर्दा २८ पटकमा २७२ वटा फर्मको संयुक्त अनुगमन गरेको थियो भने एक वर्षमा पेट्रोलियम पदार्थ वितरण गर्ने ६० वटा  पम्पको जाँच तथा २०८ वटा पेट्रोलियम पम्पको नोजल जाँच गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button