तपाईँ सुन्दै हुनुहुन्छः

झापामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

झापा । झापाको भद्रपुरमा पहिलो पटक कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

सरकारी स्वामित्वको मेची रंगशाला परिसरमा रहेको ब्याडमिन्टन कभर्ड हलमा यही भदौ २८ देखि ३० गतेसम्म कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा हालै बसेको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको थियो । प्रतियोगिता दुई इभेन्टमा सञ्चालन हुने संघका अध्यक्ष ढकालले जानकारी दिनु भयो ।

प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका उत्कृष्ट १६ र्याङ्किङका खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताको खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका सचिव तीर्थराज ढकालले जानकारी दिनुभयो । दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

प्रतियोगितालाई सलोनी टि कपले प्रायोजन गरेको अध्यक्ष ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button