कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेत्र रोग विभाग सञ्चालन
सन्दुक रुईतले गरे विभागको उद्घाटन, ४० जनाको मोती विन्दु शल्यक्रिया

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै नेत्र रोग विभाग आँखा अस्पताल सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठान स्थापना भएको डेढ दशकपछि जुम्लामै ‘नेत्र रोग विभाग’ आँखा अस्पताल सञ्चालनमा आएको हो ।
आइतबार विश्व प्रसिद्ध डा.सन्दुक रुईतले प्रतिष्ठानमा स्थापना भएको नेत्र रोग विभागको औपचारिक उद्घाटन गर्नुभएसँगै जुम्लामा आँखा अस्पताल सञ्चालनमा आएको हो ।
सुरुमा आँखा अस्पतालमा हातद्वारा गरिने शल्यक्रिया सुरु गरिने भएको छ । यहाँ अब छिटै फेको प्रविधिबाट शल्यक्रिया गर्ने तयारी भइरहेको छ । आँखाको एउटा सामान्य विभाग सशक्त अस्पतालमा परिणत हुनुले कर्णालीबासी उत्साहित भएका छन् ।
दुर्गम कर्णालीमा पुगेर सेवा गर्न पाउँदा डा.रुईत पनि खुसी भएका छन् । आँखा अस्पताल सञ्चालनसँगै डा.रुईतले आफ्नै उपस्थितिमा एक सयभन्दा बढीको मोतिबिन्दुको शल्यक्रिया गर्ने छन् । जस अन्तर्गत पहिलो दिन शनिवार मात्रै जुम्लाका ४० जना सर्वसाधारण मोतीबिन्दु शल्यक्रिया गरिएको छ ।

दुर्गम कर्णालीमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक पछि अर्को सेवा विस्तार गर्दै जाँदा कुनै बेला उपचार नपाएर अकालमै मृत्युवरण गर्ने कर्णालीबासी अहिले गुणस्तरीय एवम् विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् ।
लामो समयदेखि निरन्तर प्रयास हुँदा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखा उपचारको बन्दोबस्त मिलाउन सकेको थिएन । आँखाका डाक्टर उपलब्ध नहुनु प्रमुख समस्या थियो भने राम्रा उपकरण नहुनु अर्को समस्या थियो । भने उपकरण नहुँदा आँखाको सामान्य चेक जाँच बाहेक धेरै हुन सकेको थिएन् । तर प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल, रजिष्टार नृपेन्द्र महतको लगायतका पदाधिकारीको पहल तथा तिलगंगा आँखा अस्पतालको सहकार्यमा वर्षौँपछि डेढ करोडका उपकरण सहित जुम्लामै आँखा अस्पताल सञ्चालन हुन सफल भएको प्रतिष्ठानका आँखा विभाग प्रमुख विश्वराज तिमिल्सिनाले बताउनुभयो ।
उहाँका अनुसार डेढ करोड बढीको उपकरण ल्याएसँगै आँखा अस्पताल सञ्चालनमा आएको हो । अब आँखाको उपचारको लागि लाखाँै खर्च गरेर काठमाडौँ जाने खर्चबाट सर्वसाधारणले मुक्त भएका छन् ।
सो अवसर डा.रुईतले जुम्लामै आँखाको उपचार सुरु हुनु निकै सुखद् पक्ष भएको बताउनुभयो । अन्य सम्भावनासँगै आँखा उपचारका दृष्टिले पनि जुम्ला कर्णालीकै गन्तव्यस्थल भन्ने पक्का भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, “जुम्ला हुम्ला पुगेर सयौँलाई आँखाको ज्योति फिर्ता गर्न पाउँदा खुसी छु । नियमित सेवा प्रवाह भएको खण्डमा वर्षमा दुई हजारको आँखाको मोती विन्दु शल्यक्रिया हुनेछ । दुर्गममा बढ्दो आँखाको समस्यालाई मध्यनजर गर्दै जुम्लामै आँखा अस्पताल सञ्चालनमा ल्याइएको छ ।”
जुम्लामा आँखा अस्पताल सञ्चालनका लागि डा.रुईतसँग प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले निकै पहिलेदेखि पहल गर्दै आउनुभएको थियो । डा.रुईत कर्णालीमा सहयोग गर्न पनि तत्पर थिए । त्यसकै फलस्वरुप केही उपकरण पनि डा.रुईतको सहयोगमा आएको छ ।
आँखा विभागको सञ्चालनसँगै अब जुम्लामा आँखाको उपचारका लागि शिविर कुरेर बस्नुपर्ने अवस्थाको समेत अन्त्य भएको रजिष्टार नृपेन्द्र महतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्