युक्रेनसँग शान्ति वार्ताका लागि रुस तयार रहेको रुसी राष्ट्रपति पुटिनको भनाई

रुस । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बिहीबार बताउनुभएको छ ।
रूसले वार्तालाई कहिल्यै इन्कार नगरेको तर वार्ता युक्रेनको मागमा मात्र आधारित नहुने उहाँले बताउनुभयो । उहाँले वार्ताहरू इस्तानबुलमा हस्ताक्षर गरिएका कागजातमा आधारित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“हामी युक्रेन सरकारका प्रतिनिधिसँग सम्भावित शान्ति वार्ताका सबै मापदण्डमा पुगेका थियौँ,” रूसको भ्लादिभोस्तोक शहरमा रूसको पूर्वी आर्थिक मञ्चमा प्रश्नोत्तर सत्रका क्रममा पुटिनले भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले वार्ता गर्न कहिल्यै इन्कार गरेका छैनौँ। उनीहरूसँग वार्ता गर्न तयार छौँ तर केही क्षणिक मागका आधारमा होइन । इस्तानबुलमा सुरु गरिएको वार्तामा पेश भएका कागजातहरूको आधारमा वार्ता हुनुपर्छ । त्यो वास्तवमा सहमति थियो ।”
मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको केही समयपछि क्रेमलिनले सन् २०२२ को वसन्त ऋतुमा रुस र युक्रेन सम्झौताको नजिक पुगेको दाबी गर्दै आएको छ ।
पुटिनले भन्नुभयो, “हामी सहमतिमा पुग्न सफल भएका थियौँ, युक्रेनी प्रतिनिधिमण्डलका प्रमुखले यो दस्ताबेजको सुरुवात गरेका र हस्ताक्षर पनि गरेका थिए । यो नै तत्कालीन सहमतिको प्रमाण हो, जसको अर्थ युक्रेनी पक्ष सामान्यतया भएका सम्झौताहरूबाट सन्तुष्ट थियो ।”
पुटिनले वार्ता असफल हुनुमा युक्रेनका पश्चिमा सहयोगीहरूको हात रहेको दाबी गर्दै भन्नुभयो, “अमेरिका, युरोप र केही सम्भ्रान्त युरोपेली मुलुकका सदस्यले रुसलाई रणनीतिक रुपमा पराजित गर्न चाहेकाले मात्र यो लागु नभएको हो ।” रासस








प्रतिक्रिया राख्नुहोस्