संसदीय समितिद्वारा उजुरीकर्ताहरूसँग छलफल
काठमाडौँ । संसदीय सुनुवाई समितिले आज राजदूत नियुक्तिका लागि सिफारिस भएका व्यक्तिविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गरेको छ ।
संसद् सचिवालय सिंहदरबारमा आज बसेको समितिको बैठकमा सरकारले विभिन्न १७ देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरिएका व्यक्तिहरूबारे समितिमा उजुरी गर्ने व्यक्तिहरूसँग छलफल गरेको हो ।
समितिले आज उजुरीकर्ताहरू उज्वलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुँईकेल र नाम गोप्य रहने गरी उजुरी गर्ने एक उजुरीकर्तासँग छलफल गर्यो ।
उजुरीकर्ताहरूले राजदूतका लागि नाम सिफारिस गर्दा समावेशी सिद्धान्त अनुसार नगरेको, राजदूतको पुनर्नियुक्त नहुने कानुनी व्यवस्था विपरीतका नाम सिफारिसमा परेको, अदालतबाट कसुरदार ठहर भएको व्यक्तिको नाम सिफारिस भएको लगायतका विषयहरू उठाउनुभयो ।
राजदूत नियुक्तिका लागि सरकारले सिफारिस गरेका व्यक्तिहरू संसदीय सुनुवाई समितिबाट अनुमोदन गरेपछि मात्र नियुक्तिका लागि योग्य हुने कानूनी व्यवस्था रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्