“बालबालिकालाई पाकेटको खाने कुरा खान प्रोत्साहित गर्नु गलत”
जनकपुरधाम । परम्परागत खानाको परिकारका साटो अहिलेका बालबालिकाहरू जङ्क फुड खाने तथा खुवाउने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको एक कार्यक्रममा सहभागी भएका वक्ताहरूले बताउनुभएको छ ।
वर्ल्ड भिजनको सहयोगमा सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा आज जनकपुरधाममा भएको “मधेशमा पोषणको अवस्था तथा नकारात्मक हानिकारक अभ्यास” का विषयमा धर्म गुरुहरूसँग भएको छलफल कार्यक्रममा सहभागीहरूले मधेश प्रदेशमा परम्परागत कतिपय खाने कुरा सुपोषित भए पनि खाना खान नजान्ने गरेका कारणले धेरै बालबालिकाहरू कुपोषित भएको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेश प्रदेशका बालबालिकाहरू कर्णाली प्रदेश भन्दा बढी कुपोषित हुनु चिन्ताको विषय भएको बताउँदै कुपोषणबाट जोगाउनका लागि प्रदेश सरकारले विशेष अभियान नै चलाउने तयारी गरेको बताउनुभयो ।
उहाँले सचेत तथा पढेलेखेका अभिभावकहरूले पनि आफ्नो छोराछोरीहरूलाई खाजामा जङ्क फुड नै दिने गरेको बताउँदै घरमा खानाको परिकार बनाउन नरुचाउनु चिन्ताको विषय भएको बताउँदै अभिभावकहरूमा नै पोषणको महत्व बारेमा जानकारी गराउनुपर्ने अवस्था भएको बताउनुभयो ।
मधेश प्रदेशका प्रदेश मामिला समितिका सभापति रत्नेश्वरलाल गोइतले पहिलाका कतिपय रीतिरिवाजहरू वैज्ञानिक रहनुका साथै बालबालिकाको मानसिक तथा शारीरिक रुपमा बलियो बनाउने काम गरेकाले पहिलाको बालबालिकामा रोगसँग लड्ने क्षमता बढी हुने गरेको दाबी गर्नुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका पोषण अधिकृत विनोद यादवले ५ वर्षमा बालबालिकाको मानसिक विकास ९५ प्रतिशत हुने भएकाले सो समयमा पोषणयुक्त खाने कुरा दिन जरुरी रहेको बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोर जङ्ग थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सभाका अर्थ समितिका कन्चन हिन्दू, मुस्लिम सहितका धर्मका धर्मगुरुहरूले आ–आफ्नो विचार राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्