तपाईँ सुन्दै हुनुहुन्छः

पन्ध्रौं योजना स्वीकृत


काठमाडौ । राष्ट्रिय योजना आयोगको आज बसेको पूर्ण बैठकले पन्ध्रौं योजनालाई स्वीकृत गरेको छ ।

प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष्यतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको योजना आयोगको पूर्ण बैठकले १५औ योजनाको आधारपत्रलाई परिमार्जन सहित पूर्ण योजनाको रुपमा स्वीकृत गरेको हो ।

बैठकले नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७६/०१/१७ मा स्वीकृत भएको पन्ध्रौं योजना को आधारपत्रलाई विस्तृत रूप दिई तयार गरिएको पन्ध्रौं योजनाको विस्तृत दस्तावेज उपर छलफल गरी आयोगको बैठकमा प्राप्त भएका सुझाव समेत समावेश गरी परिमार्जित पन्ध्रौं योजनाको विस्तृत दस्तावेज स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीले योजना अवधिमा संचालन गरिने विकासका गतिविधिबाट उत्पादन र उत्पादकत्वमा वृद्धि भई उल्लेख्य मात्रामा रोजगारीका अवसर सिर्जना गर्न ध्यान दिन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले विद्यमान गरिबीको दरमा कमी गरी जैविक र मानवीय आवश्यकता परिपूर्ति मार्फत सुखी नेपालीको परिकल्पना साकार हुने गरी योजना अवधिमा आवश्यक कार्यक्रम तथा आयोजना समावेश गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले विकासको मुख्य चुनौतीको रूपमा रहेको मानव संशाधन विकासलाई विशेष रुपमा सम्बोधन गर्न समेत निर्देशन दिनुभयो ।

साथै प्रधानमन्त्री ओलीले आर्थिक तथा सामाजिक विकासमा पछि परेका क्षेत्र, वर्ग तथा समुदाय लक्षित गरी निरक्षरता, गरिबी र बेरोजगारी न्यूनीकरणका लागि चेतनामूलक तथा लक्षित कार्यक्रम योजनामा समावेश गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले योजना कार्यान्वयनबाट “समृद्ध नेपाल, सुखी नेपाली“ को राष्ट्रिय सोंच पूरा गर्ने तर्फ ध्यान दिन र सरोकारवाला सबैको सक्रियता हुनु पर्नेमा पनि जोड दिनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा हासिल गर्न २५वर्षीय दीर्घकालीन सोच सहितको पन्ध्रौं योजनाको विस्तृत दस्तावेजमा समावेश गरिएका विविध विषयमा जानकारी गराउनु भयो ।

उहाँले विस्तृत दस्तावेज तयारी प्रक्रिया, पन्ध्रौं योजनाका मुख्य विशेषता, दीर्घकालीन सोचका राष्ट्रिय लक्ष्य, योजनामा समावेश गरिएका राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी आयोजना, प्रमुख कार्यक्रम, सार्वजनिक निजी साझेदारीका आयोजना र प्रादेशिक प्रमुख कार्यक्रम एवम् योजनाको नतिजाको खाका, प्रादेशिक लक्ष्य तथा गन्तव्य सूचकका बारेमा प्रकाश पार्नुभयो । बैठकमा संविधानको पूर्ण कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहको बीचमा सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने योजनाको लक्ष्य लगायतका विषयमा समेत छलफल भएको योजना आयोगले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका सम्पूर्ण सदस्यहरु, अर्थमन्त्री, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार, आर्थिक विकास सल्लाहकार लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button