प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउने
पोखरा । गण्डकी प्रदेश सरकारले, कृषकलाई सहज तथा सुलभ वित्तीय पहुँच अभिवृद्धिका लागि कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउने भएको छ ।
प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेशमा पहिलोपटक व्यावसायिक कृषि ऋणको ब्याज अनुदान वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।
कृषिमा आकर्षण बढाउँदै उत्पादन वृद्धिका माध्यमबाट प्रमुख खाद्यन्नमा आगामी तीन वर्ष भित्रमा आत्मनिर्भर बन्ने लक्ष्य सरकारको छ ।
कृषकले बैंक तथा वित्तीय संस्थाबाट कृषि प्रयोजनका लागि लिएको कर्जाको ५० प्रतिशत ब्याज सरकारले एक वर्षका लागि अनुदानस्वरुप उपलब्ध गराउन कार्यविधि निर्माण गरी व्यावसायिक कृषक, फार्म, कम्पनी, कृषक समूह तथा सहकारीसँग प्रस्ताव आह्वान गरिसकेको मन्त्रालयले जनाएको छ ।
आवेदकले अनुदान लिनका लागि व्यावसायिक कार्ययोजना सहित तोकिएको समयसीमाभित्र पेश गर्नुपर्ने बताइन्छ । न्यूनतम पाँच लाखदेखि अधिकतम ५० लाख सम्मको कृषि ऋणको पचास प्रतिशत ब्याज अनुदान दिने भए पनि यसअघि राज्यका कुनै पनि निकायबाट अनुदान लिइसकेका कृषक तथा कृषि उद्यमीलाई यो सुविधा उपलब्ध नहुने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्