नेपाललाई शान्तिपूर्ण वातावरणमा उभ्याउन राजनीतिक दलहरू सफल

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल जारी छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले पारित गरियोस् भनि सभामा प्रस्तुत गर्नुभएको उक्त प्रस्तावमा भाग लिँदै सांसदहरुले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याएर नेपाललाई शान्तिपूर्ण वातावरणमा उभ्याउन राजनीतिक दलहरू सफल भएको बताउनुभयो ।
छलफलमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले १२ बुँदे विस्तृत शान्ति सम्झौता हुँदै गणतन्त्र घोषणा र नयाँ संविधान जारी गरेर पनि शान्ति प्रक्रियाका बाँकी विषयलाई टुङ्गोमा पुर्याउनु ऐतिहासिक भएको विचार व्यक्त गर्नुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले सशस्त्र द्धन्दका बेला बेपत्ता तथा घाइते भएका र आम नेपाली जनताको योगदानबाट प्राप्त उपलब्धिलाई कहीँ कतैबाट आक्रमण हुन नदिन अझै राजनीतिक दलहरुबीच विश्वासको वातावरण कायम हुुनुुपर्नेमा जोड दिनुभयो ।
सांसद श्रेष्ठले अब आयोग गठन गरेर पीडितलाई तत्काल न्याय दिन सरकारले पहल गर्नुपर्ने बताउनुभयो । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्