अविरल वर्षाका कारण ठोरी लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित
वीरगञ्ज । विगत २ दिनदेखि परेको अविरल वर्षाका कारण पर्साको ठोरी लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

ठोरी गाउँपालिकाको ओरिया, सिकारी बास, ओडार, ठुटे खोला, झिङ्गे खोला लगायत सबैजसो खोलामा आएको बाढीले नदीको तटीय क्षेत्रमा कटान तथा डुबानको कारण सयौँ बिगाहामा लगाइएको धान खेतीमा क्षति पुगेको छ ।
लगातार परेको पानीका कारण आएको बाढीले ठोरी गाउँपालिका–४ भएर बग्ने ओरिया खोलाले किनारको खेतीयोग्य जमिन कटान गर्न थालेको स्थानीय युवा जीत बहादुर तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार ओरिया खोलाको बाढीले वडा ४ को शान्ति टोलको उत्तरपट्टिको जमिन कटान गर्न थालेको छ ।

वर्षाका कारण हालसम्म कुनै मानवीय क्षति नभएपनि ठोरीका अधिकांश बस्तीहरू जलमग्न भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
खोलामा बाढी आएपछि ठोरी भएर माडी हुँदै चितवन जाने सवारी साधनहरू रोकिएका छन् । वर्षाका कारण पर्साको अधिकांश ग्रामीण बस्ती डुबानमा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्