बुढासुब्बामा भक्तजनको घुइँचो

धरान (सुनसरी) । बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ । बुढा सुब्बामा साउन महिनाभर भाकल पूरा गर्न र बलि चढाउन बन्द गरिएको थियो ।
विराटनगरकी सुमना खत्री साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न भदौ लागे लगत्तै आएको बताउनुभयो । इलामका अतित तामाङ पनि सुमना जस्तै बुढा सुब्बाको भाकल पुरा गर्न आएको बताउनुहुन्छ ।
बलि चढाउन खुल्ला गरेसँगै बुढा सुब्बामा भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो । बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् । बुढा सुब्बामा भाले र गौरिनी मातालाई पोथी वा पोथी नभए अण्डा चढाउने परम्परा छ ।
मन्दिर नजिकै फूल माला बेच्दै आउनुभएका प्रेम पराजुली साउनमा एक महिना बलि चढाउन बन्द गरिएकाले साउन सकिएसँगै भक्तजनको भीड लागेको बताउनुहुन्छ । भक्तजनको भीड बढेपछि फूल माला व्यापारीको व्यापार वृद्धि भएको उहाँले बताउनुभयो । बुढासुब्बा नजिकै ७० भन्दा बढी फूल माला व्यापारी छन् ।
बुढा सुब्बाका पुजारी डम्बर आले मगरका अनुसार बलि चढाउन र भाकल बुझाउन मात्र पाँच हजारभन्दा बढी भक्तजन दैनिक आउने गरेका छन् । उहाँले भन्नुभयो, “एक महिना बलि चढाउन र काटमार बन्द थियो । भदौ लागेपछि बलि चढाउन र भाकल पूरा गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ ।”
साउन महिना, सोह्र श्राद्ध, एकादशी, कृष्णाष्टमी, स्वस्थानी पूर्णिमा, राम नवमीलगायतका बेला बुढा सुब्बामा बलि चढाउन बन्द गरिने प्रचलन छ ।








प्रतिक्रिया राख्नुहोस्